Province 6 कर्णाली प्रदेशमा रंगशालाको निर्माण कार्य शुरु
गोलनेपाल

बिरेन्द्रनगर । कर्णाली प्रदेश सरकारको लगानीमा प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा रंगशाला निर्माणको कार्य शुरु भएको छ । रंगशाला निर्माणका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जिवन बहादुर शाही र रंगशाला निर्माणको जिम्मेवारी पाएको एमएसी–जिएसएल ज्वाइन्ट भेन्चरबीच सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।

१ अर्ब ५९ करोड ४७ लाखको लागतमा निर्माण हुन गईरहेको रंगशालाको निर्माण कार्य ३० महिनामा सम्पन्न हुने बताइएको छ । दश हजार दर्शक क्षमताको रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै निर्माण हुने कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताए ।

उनका अनुसार रंगशालामा भिआईपी प्यारापिट, चेन्जिङ रुम, रेफ्री रुम, रिफ्रेस रुम, मेडिकल रुम, फिजियोथेरापी रुमका साथै अण्डरग्राउण्ड पार्किङको सुविधा पनि रहने जानकारी दिए ।

त्यस्तै रंगशालामा प्रत्यक्ष प्रसारणका लागि प्लेटफर्म, ओलम्पिक टर्च स्ट्याण्ड र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कै स्वीमिङ पुल पनि बन्ने सदस्य सचिवले बताए । त्यसबाहेक रंगशाला भित्रै १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल पनि निर्माण हुने उनले बताए ।

Post Comments