South Asia पाँच महिनापछि श्रीलंकामा फर्कियो व्यवसायीक फुटबल
गोलनेपाल

काठमाडौं (एजेन्सी) । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गत फेब्रुअरीबाट रोकिएको श्रीलंकाको व्यवसायीक घरेलु फुटबल फेरि सुचारु भएको छ ।

त्यो पनि विशेष फुटबल प्रतियोगिताको आयोजना गरेर । श्रीलंका फुटबल फेडरेशनको आयोजनामा शनिबारदेखि पहिलो संस्करणको प्रेसिडेन्ट कप राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता शुरु भएको छ ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल खेल ३१ अगस्तका दिन हुनेछ । प्रतियोगितामा श्रीलंकाका शिर्ष २० टोलीहरुले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा ब्लुस्टार एससीले मोरगसमुल्ला एससीलाई ३–१ ले हरायो । त्यस्तै दोस्रो खेलमा अप काउन्ट्री लायन्स र जाभा लेन एससीले ३–३ गोलको रोमाञ्चक बराबरी खेले ।

त्यस्तै तेस्रो खेलमा न्यु स्टार एससीले रिनोन एससीलाई १–० को झिनो अन्तरले हरायो भने चौथो खेलमा मतरा सिटी क्लब र न्यु योंग्स एफसीले १–१ गोलको बराबरी खेले ।

आकर्षक पुरस्कार रकम

श्रीलंकन फुटबल फेडरेशनका अनुसार प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख श्रीलंकन रुपी हात पार्नेछ । त्यस्तै सहभागि सबै २० क्लबहरुलाई तयारी स्वरुप ३–३ लाख श्रीलंकन रुपी प्रदान गरिएको समेत फेडरेशनले जनाएको छ ।

त्यति मात्र नभएर समूह चरणमा प्रत्येक क्लबले तीन म्याच खेलेवापत प्रत्यैक म्याच मनीका रुपमा २–२ लाखका दरले कुल ६ लाख र तयारी खर्च गरेर समग्रमा ९ लाख हात पार्नेछन् । क्वाटरफाइनल, सेमिफाइनलिस्ट र उपविजेताहरुले पनि २–२ लाख हात पार्नेछन् फेडरेशनले जनाएको छ ।

 

Post Comments