ANFA आयोजक युथ फ्रेन्डली उपाधि नजिक
गोपाल काफ्ले

पथरी । आयोजक युथ फ्रेन्डली सेन्टर जारी पाँचौं रिफ्युजी च्यालेन्ज कपको फाइनलमा प्रवेश गर्न सफल भएको छ । आइतबार पहिलो सेमिफाइनलमा दावेदार मानिएको टेन नवोदय फुट्बल क्लव पथरीलाई २–० ले हराउदै आयोजक युथ फ्रेन्डली सेन्टर फाइनलमा प्रवेश गरेको हो ।

भुटानी शरणार्थी शिविरको रंगशालामा भएको खेलमा आयोजकका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका नितीन थापा मगर निर्णायक रहे । उनले पाँच मिनटको अन्तरालमा दुई गोल गर्दै आयोजकलाई फाइनलको यात्रा तय गराए ।

नितीनले खेलको ७४ र ७९औं मिनटमा लगातार दुई गोल गर्दै आयोजकको सनसनीपूर्ण जित सुनिश्चित गरे । उता कर्ण लिम्बु, दिपक राई, विजय धीमाल, रुपेश केसी, विष्णु सुनुवार जस्ता राष्ट्रियस्तरका खेलाडी लिएर उत्रिएको टेन नवोदयले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्नु पर्यो ।



खेलको म्यान अफ द म्याच आयोजकको जितमा निर्णायक बनेका नितीन थापा नै घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय हात पारे । प्रतियोगिता अन्तरगत माघ १२ गते सोमबारको दोस्रो सेमिफाइनल खेल बेलबारी फुटवल क्लव, बेलबारी र योङ बदर्श सिरिजंघा इलाम बिच हुनेछ ।

युथ फ्रेन्डली सेन्टरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ १५ गतेका दिन हुनेछ ।

 

Post Comments