वीरेन्द्रनगर । कर्णाली प्रदेश फुटबल संघको आयोजनामा सञ्चालित कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कपको उपाधि घरेलु टोली वीरेन्द्रनगर, सुर्खेत ले जितेको छ। बिहीबार कर्णाली प्रदेश रंगशालामा सम्पन्न फाइनल खेलमा जुम्लालाई १–० ले पराजित गर्दै वीरेन्द्रनगरले प्रतियोगिताको पहिलो संस्करणको ऐतिहासिक उपाधि आफ्नो नाममा लेखाएको हो।
प्रतिस्पर्धात्मक फाइनल खेलको पाँचौँ मिनेटमै विक्रम ओली ले गरेको गोल नै निर्णायक बन्यो। सुरुआती अग्रता लिएपछि वीरेन्द्रनगरले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै खेलमा पकड कायम राख्यो। जुम्लाले बराबरी गोलका लागि निरन्तर दबाब सिर्जना गरे पनि वीरेन्द्रनगरको सुदृढ रक्षापंक्ति तथा गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण खेल १–० मै समाप्त भयो।
फाइनलमा विजयी गोलकर्ता विक्रम ओली उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ द म्याच घोषित भए। उपाधि जितेसँगै घरेलु समर्थकले रंगशालामा उल्लासपूर्ण उत्सव मनाएका थिए।
जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगितामा कर्णाली प्रदेशका १३ स्थानीय तह को सहभागिता रहेको थियो। उद्घाटन खेलमा सिमीकोट, हुम्लामाथि ३–१ को जीत निकालेको वीरेन्द्रनगरले त्यसपछि बराहताललाई ६–० ले पराजित गर्दै क्वार्टरफाइनल पार गरेको थियो। सेमीफाइनलमा पञ्चपुरीलाई पेनाल्टी सुटआउट तथा सडेन डेथमा हराउँदै फाइनल पुगेको वीरेन्द्रनगरले अन्ततः उपाधि उचाल्न सफल भयो।
उता जुम्लाले चौकुनेलाई २–१ ले पराजित गर्दै प्रतियोगिताको यात्रा सुरु गरेको थियो। त्यसपछि सेमीफाइनलमा सिम्तामाथि ४–० को प्रभावशाली जीत निकाल्दै फाइनल पुगेको जुम्लाले उत्कृष्ट प्रदर्शन गरे पनि उपविजेतामै सीमित बन्न पुग्यो।
प्रतियोगिताको विजेता वीरेन्द्रनगरले नगद ४ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता जुम्लाले नगद २ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो।
व्यक्तिगत पुरस्कारतर्फ धर्मेन्द्र कुँवर (जुम्ला) उत्कृष्ट खेलाडी घोषित भए। सुबबहादुर शाही (वीरेन्द्रनगर) उत्कृष्ट गोलरक्षक चुनिए भने दिवस बिसी (वीरेन्द्रनगर) उत्कृष्ट डिफेन्डर घोषित भए। धनसिंह विक (पञ्चपुरी) ७ गोलसहित सर्वाधिक गोलकर्ता बने। गणेश खड्का (वीरेन्द्रनगर) उत्कृष्ट प्रशिक्षक घोषित भए। फाइनल खेलका प्लेयर अफ द म्याच विक्रम ओली बने भने प्रतियोगिताभर प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद २ हजार रुपैयाँ प्रदान गरिएको थियो। साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिका संरक्षक तथा जिल्ला फुटबल संघ सुर्खेत प्राविधिक सहयोगीको रूपमा रहेको थियो।