News जुम्ला र सिम्ताको दमदार जीतसँगै क्वार्टरफाइनल समीकरण पूरा
गोलनेपाल

बिरेन्द्रनगर । कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत आइतबार सम्पन्न अन्तिम दुई प्रिक्वार्टरफाइनल खेलपछि क्वार्टरफाइनल समीकरण पूरा भएको छ। कर्णाली प्रदेश रंगशाला, वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न खेलहरूमा जुम्ला र सिम्ता विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेका हुन्।

आइतबार बिहान सम्पन्न पहिलो प्रिक्वार्टरफाइनल खेलमा जुम्लाले जाजरकोटमाथि ४–१ को शानदार पुनरागमन जित दर्ता गर्यो। खेलको पाँचौँ मिनेटमै महेश शाहीले गोल गर्दै जाजरकोटलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० ले जाजरकोटकै पक्षमा समाप्त भएको थियो।

तर दोस्रो हाफमा जुम्लाले खेलको चित्र नै बदलिदियो। ५४औँ मिनेटमा धर्मेन्द्र कुँवरले बराबरी गोल गरे भने ५६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाए। अतिरिक्त समयको चौथो मिनेटमा धर्मेन्द्र कुँवरले ह्याट्रिक पूरा गरेपछि जुम्ला जितको नजिक पुग्यो। त्यसलगत्तै ८०+५ मिनेटमा इतेश कुलालले धर्मेन्द्र कुँवरको असिस्टमा गोल थप्दै जुम्लाको ४–१ को शानदार जित सुनिश्चित गरे। ह्याट्रिकसहित उत्कृष्ट प्रदर्शन गरेका धर्मेन्द्र कुँवर खेलको “प्लेयर अफ द म्याच” घोषित भए।

त्यसैगरी दिउँसो सम्पन्न अन्तिम प्रिक्वार्टरफाइनल खेलमा सिम्ता, सुर्खेतले खार्पुनाथ, हुम्लामाथि ४–१ को प्रभावशाली जित निकाल्यो। खेलको १६औँ मिनेटमा तुषार आग्रीले गोल गर्दै सिम्तालाई अग्रता दिलाए। ३४औँ मिनेटमा तुषार आग्रीले व्यक्तिगत दोस्रो गोल थपे भने अरुण केसीले अर्को गोल गर्दै पहिलो हाफ ३–० को अवस्थामा पुर्याए।

दोस्रो हाफको ४९औँ मिनेटमा नरबहादुर रावलले खार्पुनाथका लागि गोल फर्काए। तर ६०औँ मिनेटमा यामराज परियारले सिम्ताका लागि अर्को गोल थप्दै टोलीको ४–१ को सहज जित सुनिश्चित गरे। दुई गोलसहित उत्कृष्ट प्रदर्शन गरेका तुषार आग्री खेलको “प्लेयर अफ द म्याच” घोषित भए।

कर्णाली प्रदेश फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिकाले संरक्षकको भूमिका निर्वाह गरेको छ भने जिल्ला फुटबल संघ सुर्खेतले प्राविधिक सहयोग प्रदान गरिरहेको छ। प्रतियोगिताको उद्घाटन जेठ १५ गते कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालको अध्यक्षतामा सम्पन्न भएको थियो। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रमुख अतिथिका रूपमा प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो।

जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल जेठ २१ गते दिउँसो ३ बजे हुने तय गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ७ विभिन्न विधामा जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलको “प्लेयर अफ द म्याच” लाई नगद २ हजार रुपैयाँ प्रदान गरिने व्यवस्था रहेको छ।

Post Comments