बगान युथ बिर्तामोड युनाइटेड च्यालेञ्ज कपको फाइनलमा
रमेश समदर्शी

झापा । सडन डेथमा भाग्यमानी बन्दै कचनकवलको बगान युथ क्लब यहाँ जारी दोेस्रो बिर्तामोड युनाइटेड च्यालेञ्ज कपको फाइनलमा प्रवेश गरेको छ ।

डोमालाल राजवंशी रंगशालमा आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक बिर्तामोड युनाइटेड एफसीलाई सडन डेथमा ५-४ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो । बगान युथले जेठ ३१ गते शनिश्चरे एफसीसँग उपाधिका लागि खेल्नेछ ।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । जसमा बगान युथका श्याम मुर्मू, दिपेश श्रेष्ठ, हेमन लिम्बू, पुजन थापा र अनुशरण राईको प्रहार गोलमा परिणत हुँदा सञ्जय लिम्बू र राजेश साहको प्रहार बाहिरिएको थियो ।

यसैगरी, बिर्तामोड युनाइटेडका लागि आशिष चापागाई, पवन बास्के, असिम कार्की र सेवन मगरको प्रहारमात्र गोलमा परिणत भएको थियो । एरोन मगर र प्रशान्त लक्समको प्रहार बगान युथका गोलरक्षक देवन भुजेलले रोकेका थिए भने विशाल मर्डीको प्रहार बाहिरिएको थियो ।

खेल दौरान ४८औँ मिनेटमा बगान युथका कप्तान रोमन भुजेल दोहोरो पहेँलो कार्ड पाएपछि मैदान बाहिरिएका थिए । १० खेलाडीमा सीमित हुुँदा पनि बिर्तामोडले फाइदा लिन नसकेपछि उपाधि होडबाट बाहिरियो ।

खेलको प्लेयर अफ दी म्याच बगान युथका गोलरक्षक देवन भुजेल भए । उनले नगद ३ हजार र ट्रफी पाए । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ सहित ट्रफी पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी प्राप्त गर्ने क्लबका सचिव सन्तोष राईले जानकारी दिए ।

Post Comments