ANFA छथर जोरपाटी र धनकुटा फाइनलमा भिड्ने
गोलनेपाल

सिन्धुवा । छथर जोरपाटी गाउँपालिका र धनकुटा नगरपालिका धनकुटामा जारी दोस्रो पालिकास्तरीय अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

शनिबार सम्पन्न भएका दुई सेमिफाइनल खेलहरुमा आ–आफ्नो खेल जित्दै छथर जोरपाटी र धनकुटाले फाइनलमा उपाधि भिडन्त पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलमा छथर जोरपाटीले शहिद भूमि गाउँपालिकालाई ३–१ ले हरायो । छथर जोरपाटीको जितमा प्रशान्त श्रेष्ठले ह्याट्रिक गरे भने शहिद भूमिका लागि फडिन माझीले गोल गरेका थिए । खेलमा ह्याट्रिककर्ता छथर जोरपाटीका प्रशान्त श्रेष्ठ प्लेयर अफ द म्याच बने ।

त्यस्तै शनिबार नै भएको दोस्रो सेमिफाइनलमा धनकुटाले पाख्रीबास नगरपालिकालाई ३–१ कै अन्तरले हराउँदै उपाधि नजिक पुग्यो । धनकुटाको जितमा पदम भट्टराईले दुई गोल गर्दा अविनाश राईले थप एक गोल गरे । उता पराजित पाख्रीबासका लागि भने देबेन्द्र भट्टराईले गोल गरेका थिए । खेलमा धनकुटाका पदम भट्टराई प्लेयर अफ द म्याच बने ।

अब यही जेठ ३१ गतेका दिन हुने फाइनलमा छथर जोरपाटी गाउँपालिका र धनकुटा नगरपालिका उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।

Post Comments