ANFA आदर्श युथ क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । आदर्श युथ क्लब रुपन्देहीमा जारी दोस्रो न्यु इरा कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ आदर्शले भाटा एफसीलाई २–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

सैनामैना–१ बनकट्टा स्थित स्थानीय खेलमैदानमा भएको खेलमा आदर्शका लागि खेलको नवौं मिनटमै मोहन भण्डारीले पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो गोल भने ४७औं मिनटमा सुजन क्षेत्रीले गरेका थिए । खेलको म्यान अफ द म्याच आदर्शका मोहन भण्डारी घोषित भए ।

नव प्रतिभा पनि क्वाटरफाइनलमा

त्यस्तै आइतबार नै भएको अर्को खेलमा नव प्रतिभा युवा क्लबले सेभेन स्टार एफसीलाई पेनाल्टी शुटआउटमा ५–४ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलमा पराजित सेभेन स्टारका गोलरक्षक केशव परियार म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत फागुन १७ गते सोमबारको खेल आयोजक न्यु ईरा युथ क्लब र सोरौली एफसीबीच हुने प्रतियोगिता संयोजक सुनिल शाहीले जानकारी दिए ।

नव युग युवा क्लब, सैनामैना–१ बनकट्टाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २५ गतेका दिन हुनेछ ।

Post Comments