पेनाल्टी सुटआउटमा हनामी बीएफसीलाई हराउँदै चिल्ड्रेन हार्ट फाइनलमा
गोलनेपाल

बेलका । म्याक्स टाइगर तेस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा हनामी बीएफसी चितवनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चिल्ड्रेन हार्ट फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको छ।

उदयपुर जिल्लाको बेलका नगरपालिका–६ स्थित लेकाली खेलमैदानमा आज सम्पन्न खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

खेलको पहिलो हाफमा हनामी बीएफसीले चिल्ड्रेन हार्टलाई दबाबमा राख्दै गोलका केही उत्कृष्ट अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन। दोस्रो हाफको सुरुआती समयमा भने चिल्ड्रेन हार्टले हनामी बीएफसीमाथि दबाब बनाएको थियो। दोस्रो हाफमा हनामी बीएफसीले प्राप्त गरेको एक उत्कृष्ट अवसरलाई चिल्ड्रेन हार्टका डिफेन्डरले गोललाइनबाट क्लियर गरेका थिए।

त्यसैगरी चिल्ड्रेन हार्टका केही खतरनाक प्रहारलाई हनामी बीएफसीका कप्तान तथा गोलरक्षक मनोज गुरुङले उत्कृष्ट बचाउ गरेका थिए। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टी सुटआउटमा भने चिल्ड्रेन हार्टका गोलरक्षक सन्दीप भट्टराई नायक बने। उनले हनामी बीएफसीका जर्सी नम्बर ४ का अनिश परियार र सिजन राज गौतमको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे। यता हनामी बीएफसीका गोलरक्षक मनोज गुरुङले पनि चिल्ड्रेन हार्टको एक प्रहार रोक्न सफल भए।

अन्ततः चिल्ड्रेन हार्टले पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले विजयी हुँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। खेलको प्लेयर अफ द म्याच चिल्ड्रेन हार्टका उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक सन्दीप भट्टराई घोषित भए।

 
Post Comments