गाईघाट, उदयपुर। उदयपुरको गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा जारी त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सुनसरीको न्यु स्टार क्लबलाई २-१ गोल अन्तरले स्तब्ध पार्दै भारतको जर्जियन युनाइटेड एफसी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।
अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पहिलो हाफमा जर्जियन युनाइटेडका सिर्जल राईले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफमा जर्जियनकै संजय धिमालले थप एक गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए।
खेलको अन्तिम समयमा न्यु स्टार क्लब सुनसरीका लागि यशराज बिकले एक गोल फर्काए पनि टोलीलाई जित दिलाउन त्यो पर्याप्त हुन सकेन। खेलमा उत्कृष्ट प्रदर्शन गरेका जर्जियन युनाइटेडका गोलकर्ता सिर्जल राई ‘म्यान अफ द म्याच’ घोषित भए।
अब जर्जियन युनाइटेड एफसीले उपाधिका लागि आउँदो शनिबार (२१ गते) ललितपुरको चर्चित टोली सातदोबाटो युथ क्लब सँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
गाईघाट फुटबल क्लबको आयोजनामा भइरहेको यस प्रतियोगितालाई त्रियुगा नगरपालिकाले आर्थिक सहयोग गरेको छ भने उदयपुर जिल्ला फुटबल संघले प्राविधिक सहयोग पुर्याएको छ। त्यस्तै, त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिले खेलको समन्वय गरिरहेको छ।
- पेनाल्टी सुटआउटमा हनामी बीएफसीलाई हराउँदै चिल्ड्रेन हार्ट फाइनलमा
- पेनाल्टीमा इस्ट स्टारलाई हराउँदै एलएक्स सिटी फाइनलमा प्रवेश
- प्रताप राई चम्किँदा सातदोबाटो युथ क्लब त्रियुगा गोल्डकपको फाइनलमा
- हनामी बीएफसी भरतपुर म्याक्स टाइगर तेस्रो बेलका गोल्डकपमा सेमिफाइनलमा
- त्रियुगा गोल्डकप: नेपाल पुलिस क्लबलाई हराउँदै भारतको जर्जियन युनाइटेड सेमिफाइनलमा