Province 1 मंसिर २३ गतेदेखि सिरिजङ्गा गोल्डकप, विजेताले ३ लाख ५१ हजार पाउने
रमेश समदर्शी

ताप्लेजुङ । आउँदो मंसिर २३ गतेदेखि २९ गतेसम्म ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका ४ स्थित तेल्लोकमा अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगिता पाँचौ संस्करण हुने भएको छ ।

तेल्लोक स्पोर्टिङ क्लबको आयोजना तथा तेअङ्सी सिरिजङ्गा स्मृति संस्थाको संरक्षकत्वमा हुने गोल्डकपमा आठ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए । गोल्डकपसँगै सिरिजङ्गा मेला पनि सञ्चालन हुनेछ ।
गोल्डकपको पाँचौँ संस्करणको विजेता टिमले ३ लाख ५१ हजार ३२२ रुपैयाँ, उपविजेता टिमले १ लाख ७५ हजार ३२२ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

गोल्डकपमा प्लेयर अफ दी म्याचले ३ हजार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान नगद ५–५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।

गोल्डकप र मेला दुवै कार्यक्रम सम्पन्न गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष भट्टराईले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। आयोजकको तर्फबाट खेवाङ स्पोर्टिङ क्लबले प्रतिस्पर्धा गर्नेछ ।
अन्य सहभागी टिममा सैनिक युथ क्लब झापा, युकेएफसी -भारत), रेड हर्स एफसी इलाम, पाँचथर फुटबल क्लब, युनिक महादेव क्लब बेलबारी मोरङ, मरिक एफसी धरान र म्याङ्लुङ स्पोर्टिङ क्लब तेह्रथुम रहेका छन् ।

Post Comments