ANFA बास्तिममा फुटबलको रौनक: दोस्रो च्यालेन्ज कपको उद्घाटनमा सानोदुम्मा, भोजपुर १० र एएफसीको विजयी सुरुवात
गोलनेपाल

भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिकामा ‘दोस्रो बास्तिम च्यालेन्ज कप २०८३’ फुटबल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ। बास्तिम फुटबल क्लबको आयोजना तथा पौवादुङ्मा गाउँपालिका वडा नम्बर ४ बास्तिमको कार्यालयको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको हो।

उद्घाटन समारोहका प्रमुख अतिथि पौवादुङ्मा गाउँपालिकाका अध्यक्ष किरण राईले रेफ्रीलाई म्याच बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो।

बास्तिम खेल मैदानमा जारी प्रतियोगिताको पहिलो दिन आज तीनवटा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्। उद्घाटन तथा पहिलो खेलमा सानोदुम्मा खेलकुद विकास समितिले एसवाइजे सीएफसीलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

त्यसैगरी, आजै भएको दोस्रो खेल निकै रोमाञ्चक बनेको थियो। निर्धारित समयमा दुवै टोलीबाट बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा भोजपुर १० ले बीएफसीलाई ५–४ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेको छ। पहिलो दिनको अन्तिम तथा तेस्रो खेलमा एएफसीले यूएफसी माथि २–० को सहज जित निकाल्न सफल भएको छ।

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। यस्तै, उपविजेता टोलीले नगद ५१ हजार १५१ रुपैयाँसहित ट्रफीमा चित्त बुझाउनेछ।

प्रतियोगिता अन्तर्गत भोलि विभिन्न ५ वटा खेलहरू सञ्चालन हुने आयोजक बास्तिम फुटबल क्लबका अध्यक्ष विनोद पाँचकोटीले जानकारी दिनुभएको छ।

Post Comments