ANFA ब्राइट स्टार फाक्तेप, इम्बुङ पाँचथरमा जारी १५औँ बराह क्षेत्र कार्तिके पुर्णिमा मेलाको सेमिफाइनलमा
गोलनेपाल

इम्बुङ पाँचथर। श्री टु-स्टार ग्रामीण सृजनशील क्लबको आयोजनामा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं-२ ईम्बुङमा जारी ऐतिहासिक बराह क्षेत्र (कार्तिके पूर्णिमा)मेला १५ औँ संस्करणको खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता अन्तर्गत सोमबार विभिन्न चरणका तीन रोमान्चक खेलहरू सम्पन्न भएका छन्।

सोमबार भएको प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा लुम्फाबुङ पाँचथरलाई १-० गोलन्तरले पराजित गरी ब्राइट स्टार अन्तिम चारमा प्रवेश गरेको हो। रोमाञ्चक र प्रतिस्पर्धात्मक भएको उक्त खेलमा लुम्फाबुङ्का किसब राईले बल क्लियर गर्ने क्रममा आफ्नै गोल पोस्टमा जाली चुमाउँदा उक्त गोल नै यस खेलको निर्णायक गोल बन्न पुग्यो। निर्धारित समयभर प्रभावशाली खेल प्रदर्शन गरेका ब्राइट स्टारका हिमाल लिम्बु म्यान अफ द म्याच बन्दै नगद रु.१००० सहित ट्रफी प्राप्त गरेका छन्।

त्यसैगरी सोमबारनै सम्पन्न प्रतियोगिताको प्री क्वार्टर फाइनलमा डिपिओ पाँचथरलाई २-१ गोल अन्तरले पराजित गर्दै चोकमागु एफसी प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। चोकमागुको जितमा रुबी लिम्बुले व्यक्तिगत दुई गोल गरेका थिए भने डिपिओ पाँचथरको लागि अजित राईले एक गोल फर्काएका हुन् । दुई गोल गर्दै आफ्नो टोलीलाई जित दिलाउन सफल चोकमागुका रुबी लिम्बु उक्त खेलको म्यान अफ द म्याच बन्दै नगद रु.१००० सहित ट्रफी प्राप्त गरे।

त्यसैगरी तेस्रो खेलमा देउमाई इलामलाई १-० गोल अन्तरले पराजित गर्दै तिजोग युवा क्लब पाँचथर पनि प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। इलामलाई पराजित गर्ने क्रममा तीजोक युवा क्लबका सिक्सम आङ्देम्बेले एक मात्रै निर्णायक गोल गरेका थिए। निर्णायक गोल गरेका सिक्समनै उक्त खेलको म्यान अफ द म्याच बन्दै नगद रु.१००० सहित ट्रफी प्राप्त गर्न सफल भए।

सोमबार खुल्ला पुरुष फुटबलतर्फ दुई क्वाटरफाइनल र खुल्ला महिला फुटबलतर्फ दुई सेमीफाइनल खेल सञ्चालन हुनेछन्।

जस अन्तर्गत बिहान १० बजे खुल्ला महिला फुटबल तर्फको पहिलो सेमीफाइनलमा आयोजक टु स्टार ग्रामीण सृजनशील क्लबले सिलौटी क्लबको सामना गर्नेछ । त्यस्तै दिनको ठिक १२ बजे खुल्ला पुरुष फुटबल तर्फको तेस्रो क्वाटर फाइनलमा चोकमागु एफसी पाँचथरले घरेलु टोली टु स्टार ग्रामीण सिर्जनशील रातो टोलीको सामना गर्नेछ। त्यस्तै दिनको ठिक १:४५ बजे राँके एफसीले तीजोक युवा क्लबको सामना गर्नेछ। त्यसैगरी अन्तिम खेल दिनको ठिक ३ बजे खुल्ला महिला फुटबल तर्फको अन्तिम सेमीफाइनलमा चिलिङदिन र फेमेसुवा प्रतिस्पर्धा गर्नेछन्।

स्वर्गीय श्री कुबेर सिंह नेम्बाङको स्मृतिमा उहाँको सपरिवारबाट प्रतियोगिताको पुरुषतर्फ प्रथम पुरस्कार हाल युकेबाट प्रायोजन भएको हो।

खुल्ला पुरुष फुटबलतर्फ पाँचथर सहित विभिन्न जिल्लाका १० टोलीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता हुने टोलीले नगद रु.१ लाख २० हजार ८३ रुपैयाँ सहित आकर्षकट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने,उपविजेता हुने टोलीले नगद रु.७५ हजार ८३ रुपैयाँ प्राप्त गर्नेछन्।
त्यसैगरी खुल्ला महिला फुटबलतर्फ चार टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगिताको विजेता हुने टोलीले नगद रु.२० हजार ८३ रुपैयाँ सहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता हुने महिला टोलीले नगद रु.१० हजार ८३ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको समापन यही मङ्सिर ११ गते हुनेछ।

Post Comments