ANFA चितवन विरुद्ध पोखराको उत्कृष्ट पूनःरागमन
गोलनेपाल

काठमाडौं । खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै खुकुरी नेपाल सुपर लिगतर्फ शुक्रबार आफ्नो अनिन्तम खेलमा पोखरा थन्डर्सले एफसी चितवनमाथि २–१ को महत्वपूर्ण जित हात पारेको थियो । साथै यो जितसँगै पोखरा लिगतालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको एक मात्र खेलमा दुवै टोलीबाट भएका तीन गोलहरु दोस्रो हाफको अन्तिमतिर सम्भव भएको थियो । यद्यपि खेलमा अग्रता भने एफसी चितवनले बनाएको थियो । जुन अग्रता जोगाउन नसकेको चितवन अन्ततः हार बेहोर्न बाध्य भयो ।

७२औं मिनटमा शिशिर लेखीको गोलबाट अग्रता बनाएको चितवनले त्यसलाई अन्तिम दश मिनट जोगाउन सकेन । ८५औं मिनटमा नवयुग श्रेष्ठले गोल गर्दा पोखरेली टोली खेलमा फर्किएको थियो । यद्यपि पोखराका लागि निर्णायक गोल भने इन्जुरी समयको ९०+५औं मिनटमा राफेल रिमगागोले गरे ।

खेलको ८२औं मिनटमा चितवनका गोलरक्षक बिशाल सुनारले रातो कार्ड खाँदै मैदान छाड्दा टोली दश खेलाडीमा समेत खुम्चिएको थियो । खेलमा पोखरा थन्डर्सका रवि पासवान सुपर प्लेयर अफ द म्याच घोषित भए । उनले त्यसवापत नगद २५ हजार र ट्रफीसहित गिफ्ट ह्याम्पर हात पारे ।

यो जितसँगै ६ खेलबाट ८ अंक जोडेको पोखरा लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । र लिगतालिकाका शिर्ष दुई टोली धनगढी र काठमाडौं भन्दा २ अंकले मात्र पछाडी छ । यद्यपि माथिका दुई टोलीले पोखराले भन्दा एक–एक खेल कम खेलेका छन् ।

साथै आफ्नो अन्तिम खेलमा जित हात पारेको पोखराले अन्तिम चारमा पुग्ने आफ्नो सम्भावना कायम राखेको छ । उता पराजित चितवन भने २ अंकका साथ पुछारमा छ र लिगको दौडबाट बाहिरिएको छ ।

सुपर लिगअन्तरगत बैशाख २५ गते शनिबारको पहिलो खेलमा बिराटनगर सिटी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् भने दोस्रो खेलमा धनगढी एफसी र बुटवल लुम्बिनी एफसी आमने सामने हुने छन् ।

Post Comments