बुटवल । रोमाञ्चक जितका साथ इभोलुशन क्लब अफ बुटवल जारी लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रिक्वाटरफाइनलतर्फ इभोलुसनले सौभाग्य युवा क्लबलाई टाईब्रेकरमा हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ सौभाग्यका लागि एरोन थापा र हिमाल थापाले गोल गरे भने इभोलुशनका लागि दुवै गोल बिनोद केवटले गरे ।
टाईब्रेकरमा भने इभोलुशनले ४–२ ले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा इभोलुशनका बिनोद केवट म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ २४ गते बिहीबारको खेल शिवनगर परिवार, बुटवल र तिलोत्तमा–११, भूपू सैनिकबीच हुने खेल संयोजक राम थापाले जानकारी दिए ।
लखन ब्रदर्श युथ क्लब, बुटवल–८, सुख्खानगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,५१५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापाले बताए । फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।