Province 1
सिसिडिआइसी दोस्रो पानबारी गोल्डकपको फाइनलमा

धरान । उत्कृष्ट जितका साथ सिसिडिआइसी फुटबल क्लब जारी दोस्रो पानबारी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनलतर्फ सिसिडिआइसीले आयोजक पानबारी फुटबल क्लबलाई ४–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । खेलमा सिसिडिआइसीका निशान लिम्बु म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै सोही खेलमा उत्कृष्ट प्रदर्शन गरेका सिसिडिआइसीका अर्का खेलाडी अजय विष्टलाई पनि हौसला र प्रोत्साहन स्वरुप नगद सहित सम्मानित गरिएको थियो । विष्टलाई पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षले नगदसहित सम्मानित गरेका थिए ।
पानबारी फुटबल क्लब, धरान, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल जेठ ३ गतेका दिन हुनेछ ।
Post Comments