Goalnepal Foundation तनहुँको धुलाम्य र ढुंगे मैदानमा फुटबल खेल्ने कलिला फुटबलरहरुलाई गोलनेपालले सहयोग गर्ने
गोलनेपाल

नेपाली फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएको गोलनेपाल डटकमको एक हिस्सा रहेको गोलनेपाल फाउण्डेशनले तनहुँ जिल्लाको व्यास न.पा.–१० मा रहेको अनन्त युवा क्लबलाई सहयोग गर्ने घोषणा गरेको छ । क्लबले २० खेलाडीहरुलाई धुलाम्य मैदानमा प्रशिक्षण दिईरहेको छ, साथै खेलाडीहरुसँग प्रर्याप्त खेलकुद सामाग्री समेत छैन ।

गोलनेपाल फाउण्डेशनले प्रत्येक महिना विभिन्न जिल्लाका युथ फुटबल, महिला फुटबल, स्थानीय रेफ्री, फुटबल संघहरुलाई आवश्यक खेलकुद सामाग्री सहयोग गर्दै आईरहेको छ । सोही अभियान अनुरुप यसपटक फाउण्डेशनले तनहुँको अनन्त युवा क्लबलाई आवश्यक खेलदुक सामग्रीसहित सहयोग गर्ने घोषणा गरेको हो


गोलनेपालको यो अभियानमा यसपटक एनआरएन नेदरल्याण्ड्स र एएफसी ए लाइसेन्स कोच प्रदिप हुमागाईंले आवश्यक सहयोग गर्ने भएका छन् । एनआरएन नेदरल्याण्ड्सका अध्यक्ष मनोहर शर्माले यो अभियानमा सहभागी हुने अवसर प्रदान गरेकोमा गोलनेपाललाई धन्यवाद दिए ।

त्यस्तै प्रशिक्षक हुमागाईंले गोलनेपालको यो अभियानको प्रशंसा गर्दै आफूलाई निकै गर्व लागेको बताएका छन् । साथै उनले आफ्नो जन्मदिन कै अवसरमा अनन्त युवा क्लबका साना खेलाडीहरुलाई सहयोग गर्ने निर्णय गरेको बताए ।

उता अनन्त युवा क्लबकातर्फबाट राजु भुजेलले पनि सहयोगी हातहरुलाई सबैलाई धन्यवाद दिए । त्यस्तै सोही अवसरमा गोलनेपाल फाउण्डेशन तथा बिबा पब्लिकेशन्सका प्रमुख कार्यकारी बिक्रम थापाले एनआरएन नेदरल्याण्ड्स र प्रदिप हुमागाईलाई अभियानमा सहभागी भएकोमा सहयोगका लागि धन्यवाद दिए ।

गोलनेपाल फाउण्डेशनले अनन्त युवा क्लबलाई २० थान जर्सी तथा करिब ७०० अमेरिकी डलर बराबरको १० थान इन्डस्ट्रक्टिबल फुटबल सहयोग गर्नेछ ।

Post Comments