Goalnepal Foundation गोलनेपालद्वारा तनहुँको स्थानीय क्लबलाई खेलकुद सामाग्री सहयोग
गोलनेपाल

नेपाली फुटबलमा सक्रिय रहेर आफ्नो छुट्टै पहिचान बनाएको गोलनेपाल फाउण्डेशनले तनहुँको एक स्थानीय क्लबका बालबालिकाहरुलाई फुटबल सामाग्री प्रोत्साहन स्वरुप हस्तान्तरण गरेको छ ।

बिबा मिडिया ग्रुपको मातहतमा रहेको गोलनेपालले तनहुँको अनन्त युथ क्लबलाई २० थान जर्सी, २० जोर मोजा र १० थान इण्डस्ट्रक्टिबल फुटबल प्रोत्साहन स्वरुप हस्तान्तरण गरेको हो ।

यो सहयोग अभियानका लागि एनआरएन नेदरल्याण्डस् र प्रशिक्षक प्रदिप हुमागाईंले आर्थिक सहयोग गरेका थिए । त्यस्तै यस अभियानलाई सफल तुल्याउन गोलनेपालले पाँच सय डलर बराबरको फुटबल उपलब्ध गराएको थियो ।

खासगरी युवा तथा महिला फुटबलको विकास अभियानमा लागिपरेको गोलनेपाल फाउण्डेशनका प्रमुख कार्यकारी बिक्रम थापाले प्रत्येक महिना आफहरुले विभिन्न जिल्लाका फुटबल एकेडेमी तथा महिला फुटबल टिमहरुलाई प्रोत्साहन गर्न सहयोग अभियान सञ्चालन गर्दै आएको बताए ।

सिइओ थापाले भने, “हामी प्रत्येक महिना फरक स्थानमा पुगिरहेका छौं र यो अभियानले क्लब, खेलाडी, अफिशियलहरुमा आफ्नो विशेष छाप छोड्न सफल भएको छ । यो सहयोग र प्रोत्साहनले उनीहरुले निकै उत्साहित छन् । हाम्रो उद्देश्य बालबालिकाहरुमा फुटबलप्रति आकर्षण र लगाव कायम राख्नु हो साथै हामी विभिन्न क्लबहरुलाई आवश्यक खेलकुद सामाग्री उपलब्ध गराउने योजनामा पनि लागिपरेका छौं ।”

सिइओ थापाले यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । साथै उनले आगामी महिना अर्को स्थानमा यस किसिमको सहयोग अभियान सञ्चालन गर्ने समेत स्मरण गराए ।

उता एनआरएन नेदरल्याण्ड्सका अध्यक्ष मनोहर शर्मा तथा हाल अमेरिकामा बसोबास गरिरहेका प्रशिक्षक प्रदिप हुमागाईंले गोलनेपालको यो अभियानमा आफूहरु सहभागि हुन पाउँदा निकै खुशी महशुस गरिरहेको बताए । साथै यस अभियानमा आफ्नो सहयोग भविष्यमा पनि जारी रहने बताए ।

Post Comments