Goalnepal Foundation गोलनेपाल र खेलप्रेमी नन्दु दंगालको सहकार्यमा तेह्रथुमका रेफ्रीहरुलाई हेड सेट सहयोग
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलमा दशक बढी समयदेखि निरन्तर सक्रिय रहँदै आएको गोलनेपाल फाउण्डेशनले देशका विभिन्न जिल्लाहरुमा पुगी प्रोत्साहन स्वरुप खेलाडी, रेफ्री, क्लबहरुलाई खेल सामाग्रीहरु सहयोग गर्दै आईरहेको छ ।

यसै क्रममा गोलनेपाल फाउण्डेशनले तेह्रथुमका फुटबल रेफ्रीहरुलाई रेडियो हेड सेट सहयोग हस्तान्तरण गरेको छ । हाल अमेरिकामा बसोबास गर्दै आईरहेका गोलनेपालका शुभेच्छुक तथा युवा खेलप्रेमी नन्दु दंगालले उक्त हेड सेट गोलनेपाल फाउण्डेशन मार्फत तेह्रथुमका रेफ्रीहरुलाई सहयोग गरेका हुन् ।

गोलनेपालसँगको सहकार्यमा नेपाली फुटबललाई धेरै थोरै सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको नन्दु दंगालले बताए । यो अवसरका लागि उनले गोलनेपाल फाउण्डेशन परिवारलाई आभार र धन्यवाद समेत दिए । साथै यो सहकार्यका लागि पहल गरिदिने अमेरिका मै रहेका गोलनेपालका अमेरिकी एम्बासडर जितु बस्नेतलाई पनि उनले धन्यवाद दिए ।

सो अवसरमा गोलनेपालका सिइओ र वरिष्ठ खेलपत्रकार समेत रहेका बिक्रम थापाले पनि नेपाली फुटबलसँग हरहमेशा नजिकबाट जोडिएर फुटबल गतिविधीसँगै फुटबल विकासमा हातेमालो गर्न पाउँदा आफूहरु सधै उत्साहित रहेको बताए । साथै उनले ‘गाउँ–गाउँमा गोलनेपाल’ अभियानलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने बताए ।

Post Comments