Gorkhalis Abroad
अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने
काठमाडौं । अष्ट्रेलियामा रहेर नेपाली फुटबल र खेलाडीहरुको प्रवद्र्धन गरिरहेको म्याकर्थुर नेपलिज फुटबल क्लब, सिड्नीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपाली समुदायका स्थापित ३५ वर्ष उमेर पुगेका भेट्रान फुटबल टोलीहरूले १ नोभेम्बर, आइतबारका दिन मिन्टो (NSW 2566) स्थित सारा रेडफर्न प्लेइङ फिल्डमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
यस प्रतियोगिताको उद्देश्य भेट्रान फुटबल खेलाडीहरूलाई एकै ठाउँमा भेला गराई आत्मियता, भाईचारसँगै खेलप्रति उत्साह र प्रतिस्पर्धात्मक भावनासहितको उत्सव मनाउनु रहेको आयोजक क्लबका अध्यक्ष जनमत शाहले बताए ।
'लिग-कम-नकआउट' ढाँचामा सञ्चालन हुने यस प्रतियोगिताले खेलाडीहरूलाई अर्थपूर्ण प्रतिस्पर्धाको अनुभवका साथै फुटबलमार्फत पुनः जोडिने अवसर प्रदान गर्ने लक्ष्य आफूहरुले लिएको समेत अध्यक्ष शाहले बताए ।
'एम्पायर होम्स एण्ड कन्स्ट्रक्सन' मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ३,५०० डलर प्राप्त गर्नेछन् उपविजेता टोलीले ट्रफी, पदक र १,५०० डलर नगद पुरस्कार प्राप्त गर्नेछन्। यस प्रतियोगिताले टोली र व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू दुवैलाई विशेष सम्मान गरिने समेत आयोजक क्लबका अध्यक्ष जनमत शाहले जानकारी दिए ।
प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई व्यक्तिगत र टोलीगत पुरस्कारद्वारा सम्मान गरिनेछ। 'सर्वोत्कृष्ट खेलाडी' (Best Player), 'सर्वोत्कृष्ट गोलकिपर' (Best Goalkeeper) र 'सर्वाधिक गोलकर्ता' (Highest Goal Scorer) ले जनही ट्रफी र १५० डलर नगद पुरस्कार प्राप्त गर्नेछन् भने 'फेयर प्ले' (Fair Play) टोलीलाई ट्रफी प्रदान गरिनेछ।
MNFC का अध्यक्ष जनमत शाहले फुटबल प्रेमी तथा समर्थकहरूलाई मैदानमा हुने प्रतिस्पर्धात्मक खेल, कौशल, खेल भावना र अविस्मरणीय क्षणहरूको आनन्द लिन आमन्त्रण गरे। शाहले प्रतियोगिताको विकासमा समर्थकहरूको उत्साहले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै निरन्तर प्रोत्साहन र सहयोगका लागि समग्र फुटबल समुदायप्रति आभार व्यक्त गरे।
Post Comments
Related News