Gorkhalis Abroad बसन्त गौचनले टोकियो लिगको युथ टोली सम्हाले
गोलनेपाल

नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबलर, प्रशिक्षक बसन्त गौचनले टोक्योमा अवस्थित चोफुओच्का सकर क्लबको युथ टोली सम्हालेका छन् । चोफुओच्काले युथमा टोकियोको टी लिग खेल्छ । कोभिड–१९ का कारण यसपटक ढिला गरी यो लिग सुरु भएको छ ।

गौचनका अनुसार अप्रिल देखि टी लिग सुरु भइसकेको छ । चोफुओच्काले तीन खेल खेलिसकेको छ । एक खेल जितेको, एक खेल हारेको, एक खेल बराबरीमा छ । टी लिगमा ६८ टोली छन् र विभिन्न समूह बनाएर वर्ष भरी लिग खेल्ने छ । चोफुओच्काले बसन्तलाई एक वर्षका लागि अनुबन्धन गरेको छ ।

‘जापानको क्लबमा युथ टोली हेर्न पाउनु ठुलो चुनौती र अवसर हो । विदेशी प्रशिक्षकका हिसाबमा आफैलाई सिक्न पाउने अवसर हो । जापानीहरुको आफ्नै फुटबल संस्कार हुन्छ, त्यसमा मैले के थप्न सक्छु त्यो महत्वपूर्ण हो । पुरानो क्लब भएकाले यसमा खेलाडीको अभिभावकको ठुलो समर्थनमा छु,’ बसन्तले भने ।

उनी एउटा नेपालीले जापानमा युथ टोली पाउनु भनेकै ठुलो सफलताको रुपमा लिन्छन् । युथ आफ्नो रोजाई पनि रहेको र भविष्यमा नेपालमा गएर पनि युथमै केन्द्रित हुन चाहेको गौचन बताउछन् । गत वर्ष चोफुओच्का टी लिगको मध्य स्थानमा थियो । अहिले त्योभन्दा लाने चुनौती वसन्त सामु रहेको छ ।

जन्मथलो पोखरामा ड्याम साइडबाट फुटबल यात्रा सुरु गरेर पोखरा फुटबल क्लब हुदैं रानी पोखरी कर्नर टिम, मनाङ मस्र्याङदी क्लब, न्यु रोड टिमबाट क्लब फुटबल खेलेका वसन्तले नेपालको यू–१६ हु“दैं राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए । उनी नेपाली टोलीका परिचित अनुहार हुन् ।

४० वर्षे वसन्त दुई दशक देखि जापानलाई कर्मथलो बनाउदै आएका छन् र पछिल्लो एक दशक उनी प्रशिक्षण पेशामा छन् । एफएसीबाट प्रो लाइसेन्स गरिसकेका बसन्त पछिल्लो ७ वर्ष फनरुट्स एकेडेमीमा अनुबन्धित थिए । त्यसअघि जाक्पामा उनले दुई वर्ष बिताए । फनरुट्सकै सम्बन्धमा चोफुओच्कामा पुगेको वसन्तले बताए ।

Post Comments