कैलारी । कैलारी गाउँपालिका–४, के गाउँमा जारी २७औँ निसर्ग महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८३ को दोस्रो दिन महिला र पुरुषतर्फका खेल सम्पन्न भएका छन्। प्रतियोगितामा पुरुषतर्फ १६ टोली र महिलातर्फ ८ टोली सहभागी छन्।
महिलातर्फ जनस्मरण राजी क्लब निर्धारित समयमा मैदानमा उपस्थित नभएपछि न्यू कालिका युवा क्लब वाकओभरबाट विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
पुरुषतर्फ न्यू पृथ्वी युवा क्लबलाई सुदूरपश्चिम प्रदेश प्रहरीले ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। प्रहरीका कप्तान रंगल चौधरीले २०औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। पहिलो हाफको अतिरिक्त समयमा ३५औँ मिनेटपछि थपिएको चौथो मिनेटमा मनोज चौधरीले गोल गरेपछि प्रहरी २–० ले अघि रह्यो।
दोस्रो हाफको ७९औँ मिनेटमा सुरज महतोले गोल थपेपछि सुदूरपश्चिम प्रदेश प्रहरीले ३–० को जीत निकाल्यो। उत्कृष्ट प्रदर्शन गरेका कप्तान रंगल चौधरी खेलको उत्कृष्ट खेलाडी घोषित भए।
न्यू युथ सुन्दर शक्ति क्लब, कैलारी–४ को आयोजनामा भइरहेको प्रतियोगिताको मुख्य प्रवर्द्धक कैलारी गाउँपालिका र सह–प्रवर्द्धक कैलारी गाउँपालिका–४ वडा कार्यालय रहेका छन्। मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि., धनगढी–५, हसनपुर, कैलाली रहेको छ।
अटवारी पर्व तथा हरितालिका तीजको अवसरमा आयोजना गरिएको प्रतियोगिता भदौ २० देखि ३१ गतेसम्म सञ्चालन हुनेछ। पुरुषतर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार तथा महिलातर्फ विजेताले ४० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
क्लबका अध्यक्ष बि.एल. चौधरी रहेका छन्। प्रतियोगिताको नारा ‘खेलकुद नै विकासको आधार हो’ रहेको छ। प्रतियोगिताका खेलहरू गोलनेपाल डटकमबाट प्रत्यक्ष प्रसारण भइरहेका छन्।
- वनदेवी क्वार्टरफाइनलमा, चारपातेलाई पेनाल्टीमा ३–० ले हरायो
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने
- सुदूरपश्चिमको ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक