सम्झना परिवार, ओमसतिया र सयपत्री चौथो डिएमसी कपको सेमिफाइनलमा
सुरज राना मगर

तुल्सीपुर । सम्झना परिवार, ओमसतिया एफसी र सयपत्री युवा क्लब रुपन्देहीमा जारी चौथो डिएमसी कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार सम्पन्न दिनको पहिलो खेल र दोस्रो क्वाटरफाइनलमा सम्झना परिवारले आयोजक डिएमसीलाई टाईब्रेकरमा ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा सम्झना परिवारका गोलरक्षक महेन्द्र थापा प्लेयर अफ द म्याच बने ।

दोस्रो खेल तथा तेस्रो क्वाटरफाइनलमा ओमसतियाले तिलोत्तमा भेट्रान्समाथि ४–० को प्रभावशाली जित हात पार्यो । खेलमा ओमसतियाका अस्मित शर्मा प्लेयर अफ द म्याच घोषित भए ।

त्यस्तै तेस्रो खेल तथा अन्तिम क्वाटरफाइनलमा सयपत्रीले ब्रदर सकर एफसीलाई टाईब्रेकरमा ४–३ ले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिंदा सयपत्रीले टाईब्रेकरमा नतिजा आफ्नो पक्षमा पारेको हो । खेलमा सयपत्रीका गोलरक्षक अबिन गुरुङ प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत कार्तिक १४ गते शनिबारका दिन दुवै सेमिफाइनल खेलहरु हुने खेल संयोजक प्रबिन गुरुङले जानकारी दिए ।

दुर्गा मन्दिर युवा क्लब (डिएमसी), तिलोत्तमा–९, तुल्सीपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक प्रबिन गुरुङले जानकारी दिए । फाइनल खेल कार्तिक १६ गतेका दिन हुनेछ ।

Post Comments