प्रताप राई चम्किँदा सातदोबाटो युथ क्लब त्रियुगा गोल्डकपको फाइनलमा
गोलनेपाल

गाईघाट। उदयपुरको गाईघाटस्थित थरुहट रङ्गशालामा जारी त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा शानदार जित निकाल्दै सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा प्रवेश गरेको छ। आज भएको रोमाञ्चक भिडन्तमा ललितपुरको टोलीले सिराहाको बलियो प्रतिद्वन्द्वी सलहेश युवा क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो।

खेलको सुरुवाती पहिलो मिनेटमा नै प्रताप राईले गोल गर्दै सातदोबाटो युथ क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि रक्षात्मक र आक्रामक दुवै रणनीति अपनाएको ललितपुरका लागि दोस्रो हाफको अतिरिक्त समय (एडिसनल टाइम) मा रोहन कार्कीले थप एक गोल गर्दै टिमको जित सुनिश्चित गरे। उत्कृष्ट खेल प्रदर्शन गरेका सातदोबाटोका प्रताप राई आजको खेलको 'म्यान अफ द म्याच' घोषित भए।

त्रियुगा नगरपालिकाको आर्थिक सहयोग तथा त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको समन्वयमा जारी यस प्रतियोगितालाई उदयपुर जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ भने आयोजना गाईघाट फुटबल क्लबले गरेको हो। प्रतियोगिताको च्याम्पियन टोलीले नगद ५ लाख र उपविजेता (रनर अप) टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

Post Comments