ANFA पोखरा थन्डर्सलाई जरिवाना, दुई अफिसियललाई प्रतिबन्ध
गोलनेपाल

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) ले पोखरा थन्डर्सका दुई जना अफिसियललाई प्रतिबन्ध लगाउँदै क्लबलाई आर्थिक जरिवाना गराउने निर्णय गरेको छ ।

पोखरा थन्डर्स र ललितपुर सिटीबीच बुधबार भएको खेलमा पोखराका अफिसियलले निर्णायकहरुसँग वादविवाद गर्नुका साथै अनुशासन तोडेर मैदान प्रवेश गरेको घटनामा दोषी ठहर गरी पोखराका अफिसियललाई प्रतिबन्ध लगाउँदै क्लबलाई जरिवाना गर्ने निर्णय गरेको एनएसएलले प्रेस विज्ञप्तिमार्फत आज जनाएको हो ।

एनएसएलले मैदानमा खेल भावनाविपरीत कार्य गरेको ठहर गर्दै अफिसियल सुन्दर थापा र अफिसियल दीपक श्रेष्ठलाई प्रतिबन्ध लगाएको विज्ञप्तिमा उल्लेख गरेको छ । जसअनुसार मैदानभित्र छिरेर रेफ्रीविरुद्ध जाइलागेका थापालाई एनएसएल अवधिभरका लागि रंगशाला प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै, टिमको डगआउटभित्र आक्रोशमा आएर अनुशासन तोडेका अफिसियल दीपक श्रेष्ठलाई पनि २ खेलको प्रतिबन्ध लगाइएको छ । यससँगै पोखरा थन्डर्सले अनुशासन तोडेको र खेल भावना देखाउन नसकेको ठहर गर्दै ५० हजार रुपैयाँ तिर्नुपर्ने भएको छ ।

Post Comments