
उर्लाबारी । ‘स्वास्थ्यका लागि खेलकुद, खेलकुदका लागि १ घण्टा’ भन्ने नाराका साथ सुरु भएको तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगितामा धरान भेट्रान्स फुटबल क्वललाई टाईबेकरमा हराउदै आयोजक ‘उर्लाबारी निलो’ सेमिफाईनल प्रवेश गरेको छ ।
निर्धारित ६० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको अन्तिम निर्णय टाईबेकरबाट गरिएको थियो । पुर्व राष्ट्रिय खेलाडीहरु सम्मिलित धरान भेट्रान्सका लागि खेलको छैटाँै मिनेटमा सागर घिमिरेको पासलाई सतिष केसीले कन्ट्रोल गर्दै गोलपोष्टमा प्रहार गरेपनि उनको प्रहारलाई विपक्षी टिमका गोल रक्षक भक्त बहादुर शेर्माले उत्कृष्ठ बचाउ गरेका थिए ।
त्यस्तै गरी खेलको २४ औ मिनेटमा धरानका लागि तिलक राईले हेड मार्फत सतिष केसीलाई दिएको बललाई केसीले गोलपोष्टमा प्रहार गरेका थिए, तर केसीको प्रहारको बाधक उर्लाबारी निलोका गोल रक्षक शेर्मा बन्न पुगे ।
यस्तै गरी खेलको ५६ औ मिनेटमा उर्लाबारी निलोका खेलाडीले फल गरेपछि धरानले फ्रि किकको अवसर पाएको थियो । सो अवसरलाई धरानका खेलाडी विष्णु सुनारले सिदा गोलपोष्टकको दिशा दिदा विष्णुको प्रहारलाई उर्लाबारी निलोका गोलरक्षक शेर्माले पञ्च गर्दै उत्कृष्ठ बचाउ गरेका थिए ।
यस्तै उर्लाबारी निलोका लागि खेलको १५ औ मिनेटमा तारा बहादुर कटुवालले वान टु वानको अवस्थामा पाएको बललाई गोलपोष्टको दिशा दिन नसक्दा उर्लाबारी निलोले गोल गर्ने मौका गुमायो ।
यस्तै उर्लाबारी निलोका लागि खेलको २० औ मिनेटमा कृष्ण धिमालले क्लियरेन्स गरेको बललाई गंगा कार्कीले नियन्त्रणमा लिई गोलपोष्टको दिशा दिएका थिए तर उनको प्रहारलाई धरानका गोल रक्षक सुनिल तामाङले बचाउ गरेका थिए ।
यस्तै खेलको ५४ औ मिनेटमा उर्लाबारी निलोका लागि गंगा बहादुर कार्कीले वान टु वानको अवस्थामा पाएको बललाई सदुपयोग गर्न नसक्दा खेल गोल रहित बराबारीमा सकिएको थियो ।
त्यस्पछि खेलको अन्तिम निर्णय टाईबेकरबाट गरिएको थियो । टाईबेकरमा विजेता टिम ‘उर्लाबारी निलो’ का लागि बिरोध न्यौपाने, चन्द्र बहादुर धिमाल, रमेश कुमार धिमाल, मान बहादुर धिमाल, उत्तम लिम्बुले गोल गरेका थिए भने गंगा बहादुर कार्कीले प्रहार गरेको बल बाहिरीको थियो ।
यस्तै धरान भेट्रान्सका लागि विष्णु सुनुवार, सुनिल तामाङ र केन्द्र लिम्बुले गोल गरेका थिए भने सुरलोल केसी र सुनिल श्रेष्ठको प्रहारलाई ‘उर्लाबारी निलो’ का गोल रक्षक भक्त बहादुर शेर्माले उत्कृष्ठ बचाउ गर्दै आफ्नो टिमलाई सेमिफाईनलको यात्रा तय गराए ।
‘उर्लाबारी निलो’ का लागि उत्कृष्ठ खेल प्रस्तुत गर्दै अघिल्लो चरण प्रवेशको ढोका खोलेका शेर्मा आजको खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद १ हजार १ सय र ट्रफी हात पारे । शेर्मालाई कार्यक्रमका प्रमुख अथिती उर्लाबारी नगरपालिका–४ का वडाध्यक्ष कल्याण कुमार राईले पुरस्कृत गरे ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका गरी १० टिमको सहभागितामा संचालन भईरहेको प्रतियोगितामा बैशाख २ गतेको खेल उर्लाबारी रातो र कन्काई भेट्रान्स फुटबल क्लवका विचमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष दिपक पोमुले बताए ।