ANFA शानदार जितका साथ देवदह सेमिफाइनलमा
सुरज राना मगर

देवीनगर । शानदार जित हात पार्दै देवदह ब्वाईज रुपन्देहीको गैडहवामा जारी तेस्रो गैडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा देवदहले भैरव स्पोर्टस क्लबलाई ४–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । गैडहवा–८ स्थित देवीनगर खेलमैदानमा भएको खेलमा देवदहका लागि सुरज चौधरीले ह्याट्रिक गरे भने थप एक गोल मिलन आलेले गरे । उता पराजित भैरवका लागि भने मनिष थारुले एक मात्र गोल फर्काएका थिए ।

खेलमा ह्याट्रिक गरेका देवदहका सुरज चौधरी खेलको म्यान अफ दि म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख १७ गते बुधबारको पहिलो सेमिफाइनल खेल इभोलुसन क्लब अफ बुटवल र फर्साटिकर युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।

न्यु एभरेष्ट युवा क्लब, गैडहवा, रुपन्देहीको आयोजना तथा गैडहवा गाउँपालिका, विष्णुपुरा, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,१०,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने यही बैशाख २० गतेका दिन हुनेछ ।

Post Comments