काठमाडौं । नेपाली फुटबल समुदायलाई एक आपसमा जोड्न शहरको व्यस्त कुनादेखि विकट गाउँको गोरेटोसम्म पुग्ने अभियानका शुरु गरेको गोलनेपाल फाउण्डेशनले त्यो अभियानलाई फेरि निरन्तरता दिने भएको छ ।
विविध कारण र प्रतिकुल अवस्थाका बीच केही समयका लागि रोकिएको गोलनेपालको देशभरि कै जिल्लाहरुमा पुग्ने र त्यहाँ आवश्यक सहयोगका साथै फुटबल खेलको प्रवद्र्धन गर्ने अभियान अब फेरि सुचारु हुने भएको हो ।
गोलनेपाल फाउण्डेशनका प्रमुख कार्यकारी (सिइओ) तथा वरिष्ठ खेल पत्रकार बिक्रम थापा भन्छन्, “धेरैलाई हाम्रो यो अभियान बन्द भएको जस्तो लाग्न सक्छ । तर, त्यसो होइन, केही कारणवश यो अभियान रोकिएको मात्र हो । अब हामी देशका सबै जिल्लाहरुमा पुग्ने अभियानलाई लिएर फर्कदैछौं । यो अभियानलाई निरन्तरता दिन सदा झैं आउने दिनहरुमा पनि गोलनेपाललाई सबैको साथ, सहयोग र शुभेच्छा रहने विश्वास समेत लिएका छौं ।”
स्मरण रहोस, बिगतका दिनहरुमा गोलनेपालले देशका विभिन्न ठाउँहरुमा पुगि फुटबल वितरण सहित विभिन्न भौतिक र आर्थिक सहयोग समेत गरेको थियो । यो अभियानका क्रममा गोलनेपालले विभिन्न गाउँठाउँका स्थानीय क्लब, सामुदायिक विद्यालयहरु तथा महिला खेलाडीहरुलाई करिब ८०० को हाराहारीमा फुटबल र ५०० थानभन्दा बढी जर्सी वितरण समेत गरेको थियो ।
त्यसबाहेक देशविदेशमा रहेका गोलनेपालका शुभेच्छुक र सहयोगीहरुसँग सहकार्य गरी सात जिल्लाहरुका स्थानीय रेफ्रीहरुलाई रेडियो कम्युनिकेशन सेट उपलब्ध गराउनुका साथै स्थानीय र राष्ट्रियस्तर कै खेलाडीहरुलाई विविध परिस्थितिमा आर्थिक सहयोग उपलब्ध समेत गराइएको थियो ।
अनेक बाधा, व्यवधान र चुनौतिका बीच विगत डेढ दशक बढी समयदेखि निरन्तर नेपाली फुटबलमा सक्रिय गोलनेपालले यो अभियानलाई पनि नेपाली फुटबलप्रति समर्पित गर्ने लक्ष्य लिइएको छ ।
तस्विहरुमा हेर्नुहोस गोलनेपालको अभियानः



















