कनकाफ गोल्डकपः साउदीको विजयी शुरुवात, अमेरिका र कोस्टारिकालाई पनि सफलता
गोलनेपाल

काठमाडौं (एजेन्सी) । पहिलोपटक कनकाफ गोल्डकपमा सहभागिता जनाईरहेको एसियाली राष्ट्र साउदी अरेबियाले प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

समूह डी मा रहेको साउदीले आफ्नो पहिलो खेलमा हाइटीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजयी शुरुवात गर्यो । साउदीका लागि खेलको २१औं मिनटमा सालेह अल–शेहरीले पेनाल्टीमार्फत गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

त्यस्तै समूह डी तर्फ कै अर्को खेलमा आयोजक समेत रहेको अमेरिकाले ट्रिनिडाड एण्ड टोबागोमाथि ५–० को एकतर्फी जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गर्यो ।

अब समूह चरणको दोस्रो खेलमा जुन १९ तारीखका दिन अमेरिकाले साउदीको सामना गर्नेछ भने सोही दिन हाइटी र ट्रिनिडाड एण्ड टोबागो पनि भिड्ने छन् ।

त्यसैगरी समूह ए तर्फको एक मात्र खेलमा कोस्टारिकाले सुरिनाममाथि ४–३ को रोमाञ्चक जित निकाल्यो । स्मरण रहोस, समूह ए कै उद्घाटन खेलमा मेक्सिकोले डोमिनिकन रिपब्लिकलाई ३–२ ले हराएको थियो ।

अब जुन १८ तारीखका दिन हुने समूह ए तर्फको दोस्रो खेलमा कोस्टारिकाले डोमिनिकन रिपब्लिकको सामना गर्नेछ भने सोही दिन मेक्सिकोले सुरिनामसँग खेल्नेछ ।

Post Comments