News
जनशक्ति चौथो भरतपुर २४ गोल्डकपको सेमिफाइनलमा

भरतपुर । डिफेन्डिङ च्याम्पियन स्टार स्पोर्ट्स क्लब माडीलाई हराउँदै जनशक्ति युवा क्लब नवलपरासी चौथो पेन्गुईन भरतपुर - २४ गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (आइतबार) भएको खेलमा जनशक्तिले स्टार स्पोर्ट्सलाई १-० ले पराजित गरेको हो ।
यो सँगै गत संस्करणको विजेता स्टार स्पोर्ट्स प्रतियोगिताबाट बाहिरिएको छ । सिद्धार्थ माविको मैदानमा भएको खेलमा जनशक्तिलाई जिताउन निरबहादुर थापाले निर्णायक गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै सुरज चौधरीको एसिस्टमा निरले गोल गर्दै साविक विजेतालाई निराश बनाए । उनी नै प्लेयर अफ दि म्याच चुनिए ।
प्रतियोगितामा भोलि सोमबार प्याराडाइज युथ क्लब सिसुवार रत्ननगर र रामपुर फुटबल क्लब रड्स भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।
भरतपुर - २४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा जारी प्रतियोगितामा ८ टोली सहभागी छन् । जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार तथा उपविजेताले एक लाख ७५ हजार प्राप्त गर्नेछन् ।
Post Comments