
काठमाडौं (एजेन्सी) । दक्षिण अमेरिकी महारथी तथा पाँचपल्टको विश्व विजेता ब्राजील अर्को वर्ष हुने फिफा विश्वकपका लागि छनौट भएको छ । योसँगै सन् १९३० मा भएको विश्वकपको पहिलो संस्करणदेखि हालसम्म सबै विश्वकपमा छनौट हुने ब्राजील एक्लो टोली समेत बनेको छ ।
ब्राजीलले आफ्नो १६औं चरणको महत्वपूर्ण खेलमा पाराग्वेलाई १–० ले हराउँदै फिफा विश्वकपको टिकट पक्का गरेको हो । ब्राजीलका नयाँ प्रशिक्षक कार्लो एन्सेलोट्टीका लागि पनि आफ्नो प्रशिक्षकीय जिम्मेवारीमा यो पहिलो जित थियो । यो जितपछि १६ खेलबाट २५ अंकसहित तेस्रो स्थानमा रहेर ब्राजील विश्वकपका लागि छनौट भएको हो । उता २४ अंकका साथ पाँचौं स्थानमा रहेको पाराग्वेको पनि विश्वकप छनौटको सम्भावना कायम छ ।
दक्षिण अमेरिकी छनौटतर्फ कै अर्को खेलमा यसअघि नै विश्वकपका लागि छनौट भईसकेको विश्व विजेता अर्जेन्टिनाले कोलम्बियासँग १–१ को बराबरी खेल्न बाध्य बन्यो । यो नतिजापछि १६ खेलबाट ३५ अंक जोडेको अर्जेन्टिना शिर्ष स्थानमा छ । उता कोलम्बिया भने २२ अंकका साथ छैठौं स्थानमा छ र सोझै विश्वकपमा छनौट हुने सम्भावना कायम छ ।
त्यस्तै इक्वेडरले पेरुसँग गोलरहित बराबरी खेल्यो । यो नतिजापछि १६ खेलबाट २५ अंक जोड्दै दोस्रो स्थानमा रहेको इक्वेडर पनि विश्वकपका लागि छनौट भएको छ । पेरु भने १२ अंकका साथ पुछारबाट दोस्रो स्थानमा संघर्षरत छ ।
दक्षिण अमेरिकी छनौटतर्फ कै अन्य खेलहरुमा उरुग्वेले भेनेजुएलालाई २–० ले हरायो । यो जितपछि १६ खेलबाट २४ अंक जोडेको उरुग्वे चौथो स्थानमा छ र विश्वकप छनौट हुने संघारमा छ । पराजित भेनेजुएला १८ अंकका साथ सातौं स्थानमा छ र उसको विश्वकप छनौटको सम्भावना कायम छ ।
त्यस्तै छनौट प्रतियोगिताबाट बाहिरिसकेको चिलीले बोलिभियासँग ०–२ को हार बेहोर्यो । यो नतिजापछि १६ खेलबाट १७ अंकका साथ बोलिभिया आठौं स्थानमा छ । चिली भने १० अंकका साथ पुछारमा छ ।
स्मरण रहोस, दक्षिण अमेरिकी छनौटबाट शिर्ष ६ स्थानमा रहने टोलीहरु सोझै विश्वकपका लागि छनौट हुनेछन् भने सातौं स्थानमा रहने टोलीले विश्वकप छनौटको प्ले अफ खेल्ने अवसर पाउनेछ ।