
क्वाइन टसमा भाग्यमानी भईदिएपछि आयोजक माउण्ट स्टार युथ क्लब यहाँ जारी पाँचौं माउण्ट स्टार कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुटवल स्थित श्री नहरपुर माविको खेलमैदानमा बिहीबार सम्पन्न तेसे क्वाटरफाइनलमा माउण्ट स्टारले सेभेन स्टार युथ क्लब, बेलभरियालाई क्वाइन टसमा हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
नियमित समयतर्फ आयोजक माउण्ट स्टारका लागि सुवास गुरुङले गोल गरे भने उता सेभेन स्टारका लागि अफ्रिकी खेलाडी पेपेले गोल गरेका थिए । त्यसपछि खराब प्रकाशका कारण थप समय खेल खेलाउन नसकिएपछि दुवै टोलीको सहमतिमा क्वाइन टस गरिएको थियो । जसमा आयोजक भाग्यमानी साबित भईदियो ।
बिहीबारको खेलमा आयोजकका सुवास गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक १६ गते शुक्रबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल सुनौलो संगम युवा क्लब, देवीनगर र भैरव एफसी, नवलपारासी बीच आयोजकले जनाएको छ ।
रुपन्देही, काठमाडौं, हेटौडा, चितवन र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद २ लाख २५ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल कार्तिक २० गते हुनेछ ।