News बागमती गाउँपालिकामा फुटबल एकेडेमी सञ्चालनका लागि खेलाडी छनौट कार्यक्रम सुरु
बिक्रम बानियाँ क्षेत्री

मकवानपुर । बागमती गाउँपालिका, जसले आफ्नै लगानीमा आधुनिक रंगशाला निर्माण गरी प्रत्येक वर्ष एन्फाको ‘ए’ क्याटगोरी लिस्टिङ प्रतियोगिता आयोजना गर्दै आएको छ, सोही गाउँपालिका अब खेलाडी उत्पादनको अभियानतर्फ उन्मुख भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा फुटबल एकेडेमी सञ्चालन गर्ने तयारी स्वरूप खेलाडी छनौट कार्यक्रम समेत सुरु गरेको हो ।

नेपाली फुटबलका सफलता र अनुभवी प्रशिक्षक मेघराज के.सी. को नेतृत्वमा भइरहेको छनौट कार्यक्रममा स्थानीय प्रतिभावान खेलाडीहरूको सहभागिता बढिरहेको छ । प्रशिक्षक के.सी. भन्छन्, “स्थानीय स्तरमै अवसर सिर्जना भएपछि धेरै युवा फुटबलतर्फ आकर्षित भएका छन्, यस एकेडेमीबाट भविष्यमा उत्कृष्ट खेलाडी उत्पादन हुने विश्वास लिएको छु ।”

युवा तथा खेलप्रेमी गाउँपालिका अध्यक्ष सर्केश घलानले खेलकुदमै गाउँपालिकाको पहिचान बनाउन चाहेको बताए । अध्यक्ष घलान भन्छन्, “हामी बागमतीलाई नेपालको पहिलो गाउँपालिका बनाउन चाहन्छौं, जसले व्यवस्थित रंगशाला मात्र होइन, आफ्नै फुटबल एकेडेमीमार्फत राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने काम गरोस ।”

बागमती गाउँपालिकाले आगामी दिनमा खेलाडीहरूको प्राविधिक विकास, फिटनेस र खेलकुदमा आवश्यक पूर्वाधारमा निरन्तर लगानी गर्ने योजना समेत बनाएको छ।

Post Comments