News १५औं रनिङ चाँदी कपः सिंहपाल र सितावस्तीको जित
गोलनेपाल

पुनर्वास । यहाँ जारी १५औं रनिङ चाँदी कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सिंहपाल फुटबल क्लब र सितावस्ती फुटबल क्लबले जित हात पारेका छन् ।

सिंहपालले सरस्वती युवा क्लबलाई ३–१ ले पराजित गर्यो । सिंहपालको जितमा शनिव चौधरी, घनश्याम राना र घुम्मन चौधरीले गोल गरे । उता पराजित सरस्वतीका लागि भने हेमन्त खत्रीले एक गोल फर्काएका थिए । यो जितसँगै सिंहपाल प्रिक्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

त्यस्तै अर्को खेलमा सितावस्तीले साविक विजेता भानु युवा क्लबलाई समान ३–१ कै अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गर्यो । सितावस्तीको जितमा श्याम बयदी, अविनाश थापा मगर र प्रकाश बोहराले गोल गरे । पराजित भानुका लागि भने सुदिप सुनारले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

सिद्धार्थ युवा क्लब, पुनर्वास नगरपालिका–७, कञ्चनपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २२ हजारका साथ ६४ तोलाको आकर्षक चाँदीको ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल भने असोज २७ गतेका दिन हुनेछ ।

 

Post Comments