ठोरी । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा न. चार विजयबस्तिमा जारी स्वर्गीय राम बहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता अन्तर्गतको शनिबार अन्तिम सेमिफाइनल प्रतिभा युवा क्लब (आयोजक) र डिफेन्डिङ च्याम्पियन बिरगंज युनाईटेड बिरगंजबिचको खेल समय अभावका कारण निर्णय बिहिन हुदै बराबरीमा रोकीएको बाकी खेल आइतबार बिहान सम्पन्न भएको छ।
निर्धारित समय दुई दुई गोलको बराबरीमा सकिएको खेल, पेनाल्टी सुट आउट र सडन डेथबाट पनि निर्णय आउन सकेको थिएन ।
आइतबार बिहान सडन डेथको दोस्रो प्रहारबाट खेल सुरु हुदा आयोजकका बिक्रम लामाले गोल गरेका थिए भने बिरगंज युनाईटेडका राकेश चौधरीले बाहिर प्रहार गरे। राकेशको उक्त प्रहार बाहिरिदा बिरगंज युनाईटेडको लगातार दोस्रो पटक फाइनल खेल्ने सपना पुरा हुन सकेन। आइतबार दुवै टोलीबाट मात्रै एक एक प्रहारले बिजेता निर्धारण गरेको हो।
उक्त खेलको म्यान अफ दी म्याच आयोजक प्रतिभा युवा क्लबका बिक्रम लामा हुदै नगद रु. दुई हजार पाँच सय सहित ट्रफी र मेडल प्राप्त गरेका छन।