News एन्फा प्रेसिडेन्ट लिगः लालीगुराँस र विजय स्पोर्टसको जित
बिक्रम बानियाँ क्षेत्री

हेटौंडा । जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिता अन्तर्गत हेटौंडाको गौरीटार रंगशालामा भएको खेलहरूमा कास्कीको लालीगुराँस एसोसिएसन क्लब र कैलालीको विजय स्पोर्ट्स क्लबले पहिलो जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा लालीगुराँसले बर्दियाको जनजागृती युवा क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो । लालीगुराँसका लागि आशिष गुरुङ खेलका नायक बने । आशिषले खेलको १३औं, ९०औं र ९३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अर्को एक गोल ४८औं मिनेटमा यम बहादुर श्रेष्ठले गरेका थिए । खेलमा आशिष गुरुङ ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।

त्यस्तै दोस्रो खेलमा कैलालीको विजय स्पोर्ट्स क्लबले धनकुटाको देउराली युथ क्लबलाई ४–१ ले हराउँदै पहिलो जित दर्ता गर्‍यो । विजय स्पोर्ट्सका निरज चौधरीले खेलको १२औं, १४औं र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यस्तै, खेलको ४७औं मिनेटमा एरोन थापाले थप एक गोल गरे ।उता देउरालीका लागि भने २५औं मिनेटमा उज्वल राईले सान्त्वना गोल फर्काएका थिए । खेलमा ह्याट्रिक गर्ने निरज चौधरी ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।

२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब,हैरान्स क्लब र लालीगुराँस एसोसिएसन क्लब छन् ।

लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले उपाधिसहित नगद १० लाख रुपैयाँ पुरस्कार पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् । सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन् । राष्ट्रिय लिग पुस महिनामा हुनेछ ।

 

 

 

Post Comments