चपरहट्टी । डिएस युनाइटेड, दिपनगर रुपन्देहीमा जारी तेस्रो सिद्धार्थ कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
आइतबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा डिएस युनाइटेडले न्यु सृजना युवा क्लब, करौजियालाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
तिलोत्तमा–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा डिएस युनाइटेड ५–४ ले विजयी बन्दै सेमिफाइनल यात्रा तय गर्न सफल भयो ।
खेलमा डिएस युनाइटेडका गोलरक्षक नरेन्द्र पुन म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १५ गते सोमबारको पहिलो सेमिफाइनल खेल जनज्योति क्लब, डिंगरनगर र मोन्स्टर गाईज, सुनवल बीच हुने खेल संयोजक युवराज थापाले जानकारी दिए ।
सिद्धार्थ क्लब, तिलोत्तमा–१, चपरहट्टी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर १९ गतेका दिन हुनेछ ।