गछिया । संघर्षपुर्ण जितका साथ गाईघाट युनाइटेड, उदयपुर जारी प्रथम गछिया गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।
बुधबार भएको तेस्रो क्वाटरफाइनलमा जलथल फुटबल क्लब, झापालाई पेनाल्टी शुटआउटमा हराउँदै गाईघाट युनाइटेड अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ गाईघाटका लागि बिनोद राईले गोल गरेका थिए भने जलथलका लागि निस कुमार श्रेष्ठले गोल गरेका थिए । टाईब्रेकरमा गाईघाटले नतिजा ४–१ ले आफ्नो पक्षमा पार्दै सेमिफाइनल यात्रा तय गर्यो ।
खेलमा गाईघाटका गोलरक्षक रेम्बो चौधरी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १८ गते बिहीबारको चौथो क्वाटरफाइनल खेल दमक फुटबल एकेडेमी, दमक, झापा र राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीबीच हुनेछ ।
गछिया युवा समाज, सुन्दरहरैचा–३, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।