रतुवामाई । एकतर्फी जितका साथ यहाँ सम्पन्न चौथो रतुवामाई मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि साविक विजेता वार्ड नम्बर ६ ले जितेको छ ।
फाइनलमा वार्ड नम्बर ६ ले वार्ड नम्बर ५ माथि ५–१ को एकतर्फी जित निकाल्दै उपाधि जित्न र उपाधि रक्ष ागर्न सफल भएको हो । विजेता बनेको वार्ड नम्बर ६ ले एक किलो चाँदनी र एक तोला सुन जडित आकर्षक ट्रफीसहित नगद ७० हजार हात पार्दा उपविजेता वार्ड नम्बर ५ ले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
नगर युवा तथा खेलकुद समिति, रतुवामाई, मोरङको आयोजनामा सम्पन्न प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी वार्ड नम्बर ६ का कुन्साङ तामाङ घोषित भए । त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक वार्ड नम्बर ६ कै समिर राई बन्दा उत्कृष्ट डिफेन्डर वार्ड नम्बर ५ का बिशाल घिमिरे चुनिए ।
त्यस्तै उत्कृष्ट मिडफिल्डर वार्ड नम्बर ५ का हेन्सल घिमिरे चुनिदा उत्कृष्ट फरवार्ड वार्ड नम्बर ६ का उपेन्द्र तामाङ बने । उत्कृष्ट प्रशिक्षक वार्ड नम्बर ६ कै सन्दिप गौतम चुनिए । त्यस्तै उदीयमान खेलाडी वार्ड नम्बर ५ का प्रमोद नेपाली बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार वार्ड नम्बर ६ का उपेन्द्र कार्कीले हात पारे ।