चपरहट्टी । आयोजक सिद्धार्थ क्लब, चपरहट्टी रुपन्देहीमा जारी तेस्रो सिद्धार्थ कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको दोस्रो सेमिफाइनलमा सिद्धार्थले डिएस युनाइटेड, दिपनगरलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । तिलोत्तमा–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा सिद्धार्थले डिएस युनाइटेडलाई ५–४ ले हराउँदै फाइनलमा प्रवेश गर्यो ।
खेलमा सिद्धार्थका आशिष गुरुङ म्यान अफ दि म्याच घोषित भए । आयोजक सिद्धार्थले अब यही मंसिर १९ गते शुक्रबार हुने फाइनलमा जनज्योति क्लब, डिंगरनगरसँग उपाधिका लागि भिड्नेछ ।
सिद्धार्थ क्लब, तिलोत्तमा–१, चपरहट्टी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।