News मेयर कपमा खेलाडी कुटपिट : करन पाल गम्भीर घाइते !
गोलनेपाल

कञ्चनपुर क्षेत्र नं. १ का प्रतिभाशाली खेलाडी करन पाल मेयर कपको पहिलो सेमिफाइनल खेलमा कुटपिटको शिकार बनेका छन्। वडा नं. १० र वडा नं. १ बीचको प्रतिस्पर्धामा ‘हेण्ड’ बलको निर्णयलाई लिएर सुरु भएको विवादपछि वडा नं. १ तर्फका केही समर्थक र खेलाडी मैदानमै प्रवेश गर्दै पालमाथि सामूहिक आक्रमण गरेको आरोप छ।

घटनापछि गम्भीर घाइते पाललाई माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ। परिवारका अनुसार उनको आँखाको हड्डी र नाकको हड्डी भाँचिएको छ र शल्यक्रियाको तयारी भइरहेको छ।

खेलका क्रममा सुरक्षाकर्मी उपस्थित हुँदाहुँदै पनि दर्शक र खेलाडी मैदान छिर्ने अवस्था रोक्न नसक्नु तथा आक्रमणलाई नियन्त्रण गर्न ढिलाइ हुनु आयोजक समितिको गम्भीर लापरवाहीका रूपमा आलोचना भएको छ।

पीडित पक्षले खेलाडी अस्पतालमा उपचाररत हुँदा समेत आयोजकले राहत र आवश्यक सहयोगबारे कुनै स्पष्टता नदिएको भन्दै असन्तुष्टि जनाएको छ।

बेलौरीमा पछिल्ला वर्षहरूमा आयोजना हुने स्थानीय प्रतियोगितामा दुव्र्यवहार, विवाद र कुटपिटका घटना दोहोरिन थालेका कारण खेलकुद संरचना र व्यवस्थापन क्षमतामै प्रश्न उठ्न थालेको स्थानीय खेलप्रेमीहरूको टिप्पणी छ। उनीहरूका अनुसार, खेल अनुशासन कायम राख्न नसक्नेहरूले प्रतियोगिता सञ्चालन गर्नु नै खेलका लागि जोखिमपूर्ण बन्दै गएको छ।

प्रतिभा विकास र खेल प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेयर कप लगातार विवाद र हिंसात्मक घटनाले प्रभावित हुँदा स्थानीय खेलाडीहरूको सुरक्षाबारे गम्भीर चिन्ता बढेको खेलकुद विश्लेषकहरूले बताएका छन्।

From Esudurpaschim

Post Comments