काठमाडौं (एजेन्सी) । दक्षिण कोरियाका स्टार फुटबल खेलाडी हियुङ–मिन सोनलाई ब्ल्याकमेल गरेको आरोपमा एक महिलालाई दक्षिण कोरियाको अदालतले जेल सजाय दिएको छ ।
बीबीसीमा प्रकाशित खबर अनुसार करिब २० वर्षिय एक महिलाले सोनलाई उनको सन्तानको गर्भ बोकेको भन्दै ब्ल्याकमेल गरेको पाइएपछि महिलालाई जेल सजाय तोकिएको हो ।
सोनलाई आफू गर्तवती भएको नाटक रचेर ब्ल्याकमेल गरेको आरोपमा ती आरोपित महिलासँगै अर्का ४० वर्षिय पुरुष पनि पक्राउ परेका छन् । आरोपित महिलालाई चार वर्षको जेल सजाय सुनाइएको छ भने पुरुषलाई दुई वर्षको जेल सजाय दिइएको बीबीसीले जनाएको छ ।
रिपोर्टअनुसार ती महिलाले सोनसँग २ लाख अमेरिकी डलर असुलेको बताइएको छ । साथै उक्त रकम महिलाले मेकअप लगायत आफ्नो विलासितामा खर्चिएको समेत बीबीसीले खबर प्रकाशित गरेको छ । ती दुई आरोपीले सोनसँग थप रकम माग्न थालेपछि सोनले प्रहरीलाई खबर गरेका थिए ।
स्मरण रहोस, करिब एक दशक इङलिस प्रिमियर लिगमा चर्चित क्लब टोटेनह्याम हटसपुरका लागि खेलेको ३३ वर्षिय सोन हाल अमेरिकी क्लब लस एन्जल्स फुटबल क्लबमा आवद्ध छन् । साथै उनी सर्वाधिक कमाई गर्ने एसियाली खेलाडीको रुपमा समेत रहेका छन् ।