News मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
गोलनेपाल

मूलखर्क । संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा जारी प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित महिला फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा पदमा स्पोर्ट्स क्लब, ओखलढुङ्गाले बेलबारी फुटबल क्लब, मोरङमाथि ७–० को शानदार जित निकालेको छ।

आइतबार सम्पन्न खेलमा पदमा स्पोर्ट्स क्लबकी सिम्रन गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरिन्। चार गोलसहित टोलीको जितमा महत्त्वपूर्ण योगदान दिएकी सिम्रन ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।

पदमा स्पोर्ट्सका लागि सुक्रीया मगरले खेलको ३१औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरूवाती अग्रता दिलाएकी थिइन ।पहिलो हाफको अतिरिक्त समयमा सिम्रन गुरुङले लगातार दुई गोल गरिन् भने भूमिका बुढाथोकीले थप एक गोल गरिन्।

दोस्रो हाफमा पनि पदमा स्पोर्ट्सको आक्रामक प्रदर्शन रोकिएन। सिम्रनले दोस्रो हाफको २५औँ मिनेटमा व्यक्तिगत तेस्रो तथा टोलीका लागि पाँचौँ गोल गरिन्। त्यसको तीन मिनेटपछि सिर्जना बडुवालले गोल थपिन्। खेलको ३३औँ मिनेटमा सिम्रनले व्यक्तिगत चौथो गोल गर्दै टोलीको ७–० को जित सुनिश्चित गरिन्। प्रतियोगितामा बेलबारी फुटबल क्लबले कुनै गोल फर्काउन सकेन।

खेलमा मादी नगरपालिकाकी उपप्रमुख सुनिता देवी भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।

स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा आयोजित प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सह–आयोजनामा सञ्चालन भइरहेको छ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

Post Comments