काठमाडौँ । सिङ्गापुरस्थित फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमी र दाङको लुम्बिनी फुटबल एकेडेमीबीच नेपाली ग्रासरुट फुटबल विकासलाई लक्षित गर्दै ऐतिहासिक सम्झौता सम्पन्न भएको छ। काठमाडौँको नक्सालस्थित होलिडे इन एक्सप्रेस होटलमा शनिबार आयोजित विशेष कार्यक्रमबीच दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समीर ओली र फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमीका तर्फबाट कम्पनीकी डाइरेक्टर अस्मिता गुरुङले सम्झौतामा हस्ताक्षर गरे। कार्यक्रममा फ्रेन्जका मालिक तथा सिङ्गापुर नागरिक डेल्भिन एस्पीको पनि उपस्थिति रहेको थियो।
समीर ओलीको व्यक्तिगत लगानीमा २०८० सालदेखि दाङको घोराहीमा आवासीय सुविधा सहित आफ्नै खेल मैदानमा लुम्बिनी फुटबल एकेडेमी सञ्चालन हुँदै आएको छ। हाल एकेडेमीमा २९ जना खेलाडी आवासीय रूपमा प्रशिक्षणरत छन् भने ६ जना विपन्न तथा दलित समुदायका खेलाडीहरूको पालनपोषणदेखि शिक्षासम्मको सम्पूर्ण खर्च ओलीले आफ्नै व्यक्तिगत स्रोतबाट व्यहोर्दै आएका छन्।
यता, फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमी सन् २०१२ देखि सिङ्गापुरमा आधारित रही मलेसिया, इन्डोनेसिया लगायतका देशहरूमा समेत सक्रिय रहँदै आएको छ। क्लबले विभिन्न डिभिजन लिगमा प्रतिस्पर्धा गरिरहेको छ भने सिङ्गापुर राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक जिता सिङ्ग क्लबका संरक्षकका रूपमा रहेका छन्।
सम्झौतासँगै अब दुवै एकेडेमीले ‘लुम्बिनी फ्रेन्ज फुटबल क्लब’का रूपमा नेपाली फुटबल वृत्तमा प्रतिनिधित्व गर्नेछन्। सम्झौताअनुसार फ्रेन्ज इन्टरनेसनल फुटबल एकेडेमीले लुम्बिनी फुटबल एकेडेमीलाई आर्थिक, प्राविधिक तथा व्यावसायिक सहयोग प्रदान गर्नेछ। पहिलो चरणमा घोराहीस्थित एकेडेमीको भौतिक स्तरोन्नति गरी त्यसलाई केन्द्रीय कार्यालयका रूपमा स्थापना गरिनेछ भने त्यसपछि सोही मोडेलमा देशभर प्रादेशिक संरचना विस्तार गर्ने लक्ष्य लिइएको छ।
प्राविधिक पक्षमा नेपाली ग्रासरुट फुटबलमा पहिलोपटक एआई (कृत्रिम बुद्धिमत्ता) युक्त प्रविधिको प्रयोग गरिने भएको छ। यसका लागि सिङ्गापुरबाट आवश्यक उपकरण उपलब्ध गराइनेछ। फ्रेन्जका मालिक डेल्भिन एस्पी स्वयं एआई सफ्टवेयर कम्पनी ‘सिक्स्थ सेन्स’का प्रबन्धक रहिसकेकाले उक्त प्रविधिमार्फत खेलाडीको प्रदर्शन विश्लेषण, डेटा अध्ययन र दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
यो सम्झौताले सिङ्गापुर र नेपालबीचको फुटबल सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपाली फुटबलमा देखिएको नकारात्मक परिवेशबीच यो पहलले विदेशी लगानीकर्तालाई नेपालमा फुटबल क्षेत्रमा लगानी सम्भव छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको आयोजकहरूको विश्वास छ।
लुम्बिनी फ्रेन्ज फुटबल क्लबले नेपालको घरेलु प्रतियोगितादेखि राष्ट्रिय लिगसम्म सहभागिता जनाउने लक्ष्य लिएको छ। सम्झौतापछिको पहिलो कदमस्वरूप क्लबले नेपालकै मोफसल फुटबलका सर्वाधिक लोकप्रिय प्रतियोगितामध्ये एकमा सहभागिता जनाउने तयारी गरेको छ, जहाँ सिङ्गापुर राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक जिता सिङ्गको प्रशिक्षणमा सिङ्गापुरका राष्ट्रिय खेलाडीहरू समेत सहभागी हुने जनाइएको छ।