News लालिगुराँस एफसीद्वारा दुबइमा तेस्रो ‘न्यु इयर कप २०२६’ आयोजना हुँदै (खेलतालिकासहित)
गोलनेपाल

दुबई । हिलटप माउन्टेन रेस्टुरेन्ट, अल बार्शाको मुख्य प्रायोजन तथा यूएनएफए (UNFA) को सहकार्यमा लालिगुराँस एफसीद्वारा तेस्रो लालिगुराँस एफसी न्यु इयर कप २०२६ आयोजना हुने भएको छ ।

नयाँ वर्ष २०२६ लाई नयाँ आशा, आकांक्षा, विश्वास, दृढ संकल्प र आपसी भाइचारा तथा एकतासहित स्वागत गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगिता डिसेम्बर २७, २०२५ (शनिबार राति) दुबईको डल्स्को, अल क्वोज मैदानमा सञ्चालन हुनेछ । खेलहरू राति ८ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

११-ए-साइड नकआउट प्रणालीमा सञ्चालन हुने उक्त प्रतियोगितामा यूएनएफएमा दर्ता भएका तथा ईआईडी होल्डर खेलाडीहरू मात्र सहभागी हुन पाउनेछन् । प्रत्येक खेलको समयावधि ४० मिनेटको हुनेछ भने बीचमा ५ मिनेटको विश्राम तथा स्टप वाचका साथ इन्जुरी समयसमेत थपिनेछ ।

प्रतियोगितामा प्रत्येक टिमबाट १ टिम म्यानेजर, १ प्रशिक्षक, ११ खेलाडी र ११ वैकल्पिक खेलाडी गरी कुल २४ सदस्यीय टोली सहभागी गराउन सकिनेछ । सहभागिताका लागि प्रवेश शुल्क एईडी ११९९ तथा फिर्ता योग्य धरौटी एईडी ५० तोकिएको छ ।

प्रतियोगिताका विजेताले एईडी ५१११ नगदसहित ट्रफी र मेडल, उपविजेताले एईडी ३१११ नगदसहित ट्रफी र मेडल, तेस्रो हुने टिमले एईडी १२०० नगदसहित ट्रफी प्राप्त गर्नेछन् । साथै फेयर प्ले अवार्डका लागि पनि ट्रफी प्रदान गरिनेछ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स तथा उत्कृष्ट प्रशिक्षकलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा लालिगुराँस एफसी (सयापत्री रेस्टुरेन्ट), मेची महाकाली युनाइटेड एफसी, राइजिङ स्टार एफसी, लमजुङ एफसी, एडी फूलबारी एफसी, ओल्ड मङ्क्स एफसी, न्यू बोइज एफसी, युथ स्पोर्टिङ एफसी, चन्द्र सूर्य एफसी, जीसीडी रोयल गोर्खा एफसी, नखिल गोर्खा एफसी, रोयल आइक्याड एफसी, धरान युनाइटेड एफसी, नवबुद्ध एफसी, हिपाट एफसी, ग्रिन सिटी एफसी तथा रुपन्देही इलेभेन गरी १७ टोलीहरूको सहभागिता रहनेछ ।

Post Comments