News ३१औं आइजीपी रनिङ ट्रफी सम्पन्न, आयोजक नेपाल पुलिस स्कुल साँगा बन्यो विजेता
गोलनेपाल

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीज्यूको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगामा संचालित ३१औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।

फाइनल खेलमा नेपाल पुलिस स्कुल साँगाले, सैनिक आवसीय महाविद्यालय, भक्तपुरलाई १-० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगा टिम प्रथम, सैनिक आवसीय महाविद्यालय, भक्तपुर द्वितीय र पिस पोइन्ट बोर्डिङ स्कुल टिम तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगिताको व्यक्तीगत विधातर्फ नेपाल पुलिस स्कुल साँगाका मनिष बन्राईट सर्बोत्कृष्ट खेलाडी, नेपाल पुलिस स्कुलकै समिर थापा सर्बोत्कृष्ट गोलकिपर घोषित भएका छन्।उदयिमान खेलाडीकारूपमा सैनिक आवसीय महाविद्यालय, भक्तपुरका निरज अधिकारी घोषित भए । प्रतियोगिताको फेयर प्ले टिमको रूपमा बिकेटेश्वर स्कुल  र उत्कृष्ट मार्चपास नेपाल एपिएफ स्कुल, किर्तिपुर घोषित भए। फाईनल खेलको प्लेयर अफ दि म्याच नेपाल पुलिस स्कुलका रोनि बिर बिक्रम शाह ले प्राप्त गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले  बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टिमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र त्यसैगरी म्याच रेफ्री र अफिसियलहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगितालाई उत्साह, अनुशासन र खेलभावनासहित सम्पन्न गराउन सहयोग पुर्‍याउने आयोजक समिति, सहभागी विद्यालय, खेलाडी, प्रशिक्षक, प्रहरी कर्मचारी तथा दर्शकप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

तीन दशकभन्दा लामो इतिहास बोकेको यस प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन, सहकार्य, नेतृत्व र खेलकुद संस्कार विकास गर्दै नयाँ प्रतिभाको पहिचान र विद्यालयस्तरको फुटबलको स्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने कुरामा उहाँले जोड दिनुभयो । उहाँले अध्ययनसँगै खेलकुद तथा सिर्जनशील गतिविधिमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकास, गुणस्तरीय शिक्षा, स्वस्थ शैक्षिक वातावरण र शारीरिक–मानसिक स्वास्थ्यमा विद्यालय परिवार प्रतिबद्ध रहेको कुरा उल्लेख गर्दै प्रतियोगिताको विजेता, उपविजेता तथा सबै सहभागी टिमहरूलाई बधाई दिँदै विद्यार्थीहरूको उज्ज्वल भविष्य, सफल जीवन र खेलकुदप्रतिको निरन्तर उत्साहको शुभकामना व्यक्त गर्नुभएको थियो ।  

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक हिमालयकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूद्वारा स्वागत नृत्य तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा ब्यान्ड डिस्प्ले गरिएको थियो ।
मंसिर १७ गतेदेखि शुरू भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, नेपाल पुलिस स्कुल, चितवन, नेपाल पुलिस स्कुल  सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, भक्तपुर, नेपाल सशस्त्र प्रहरी विद्यालय, कीर्तिपुर लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका जम्मा १४ विद्यालयका १५  टिमको सहभागिता रहेको थियो ।
 
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावक, स्थानीय बासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
 
Post Comments