News १३औंं शुद्धोदन फर्साटिकर कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

फर्साटिकर । रुपन्देहीको सफल र परिचित क्लब मध्ये एक फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, फर्साटिकरको आयोजनामा हुने १३औं शुद्धोदन फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

शुद्धोदन–४ स्थित फर्साटिकर खेलमैदानमा यही पुष १५ गतेदेखि हुन गईरहेको प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको खेल संयोजक रवी खड्काले जानकारी दिए । आयोजक क्लबले बिहीबार पत्रकार सम्मेलन गरी खेलतालिका समेत सार्वजनिक गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा पुष १५ गतेका दिन सिद्धार्थ क्लब, चपरहट्टी र फर्साटिकर एकेडेमी, फर्साटिकर भिड्ने खेल संयोजक रवी खड्काले बताए । रुपन्देही, कपिलवस्तु, पाल्पा र नवलपरासीका गरी कुल १२ टोली सहभागि प्रतियोगिताको फाइनल खेल पुष २६ गतेका दिन हुने पनि खेल संयोजक खड्काले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराईले जानकारी दिए । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्करको व्यवस्था गरिएको आर्थिक संयोजक भट्टराईले बताए ।

उता आयोजक क्लबका अध्यक्ष अमृत खड्काले प्रतियोगिता सफल बनाउन सबैको साथ, सहयोगको अपेक्षा गरेको बताए । आफ्नो पहिलो कार्यकालको पहिलो प्रतियोगिता रहेको स्मरण गराउँदै अध्यक्ष खड्काले फर्साटिकर कपलाई यसपटक पनि भव्यताका साथ आयोजन ागर्न आफूहरुले धेरै मेहनत गरेको बताए ।

क्लबका सक्रिय तथा आजिवन सदस्य भेषराज पौडेलको सञ्चालनमा भएको कार्यक्रममा फर्साटिकर युवा क्लबका निवर्तमान अध्यक्ष तथा रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष मुकेश कुँवर, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतले पनि आ–आफ्नो विचार धारणा राखेका थिए ।

 

Post Comments