News चाँगे र सुरुम्खिम मानाभारा गोल्डकपको फाइनलमा
गोलनेपाल

खेजेनिम (ताप्लेजुङ) आठराई त्रिवेणी गाउँपालिकाको चाँगे माछापोखरी हिटी क्लब र सिदिङ्वा गाउँपालिका ७ को लालीगुराँस युथ स्पोर्टिङ क्लब सुरूम्खिम यहाँ जारी प्रथम मानाभारा गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् ।

फक्ताङलुङ गाउँपालिका २ स्थित आहाले खेलमैदानमा आज भएको पहिलो खेलमा चाँगेले मैवाखोला गाउँपालिकाको जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुमाथि गोल वर्षा गर्दै फाइनलमा प्रवेश गरेको हो । ढुङ्गेसाँघुमाथि चाँगेले ७-१ गोलअन्तरको फराकिलो नतिजा निकालेको थियो । जसमा विदेशी खेलाडी फोडे फोफोनाले ह्याट्रिक पूरा गरे । फाफोनाले खेलको ४०, ४२ र ७८औँ मिनेटमा गोल गरेका हुन् । यसअघि चाँगेका दिपेश श्रेष्ठले खेलको ३१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएको थिए । फेरि शक्ति राईले ३९औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर बनाएका हुन् । पहिलो हाफमै ४-० गोलको अन्तर रहेको थियो । दोस्रो हाफमा सुबास तामाङले ५३औँ र दिपेश श्रेष्ठले व्यक्तिगत दोस्रो गोल ७६औँ मिनेटमा गरे भने ढुङ्गेसाँघुका लागि एकमात्र सान्त्वना गोल राजेश लिम्बूले गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच ह्याट्रिककर्ता फोडे फोफोना भए ।

आजै भएको अन्तिम सेमिफाइनल खेलमा हाङदेवामाथि सुरूम्खिमले संघर्षपूर्ण जित निकाल्दै उपाधि नजिक पुगेको हो । खेलको निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । खेलको ५८औँ मिनेटमा सुरुम्खिमका दिपेश लिम्बूले गोल गर्दै अग्रता दिलाएका थिए । तर, हाङदेवाका विशाल मगरले ६९औँ मिनेटमा बराबरी गोल गरे । टाइब्रेकरमा पनि ४-४ गोलको बराबरी भएपछि सडनडेथमा सुरुम्खिमले ७-६ गोलअन्तरले बाजी मार्यो । उसका लागि जमिन लक्सम, विपिन फोम्बो, हिटेन लिम्बू, न्यूसन लिम्बू, विवेक सुनाम, लोकेन्द्र थापा र दिपेश लिम्बूकाे प्रहार गोलमा परिणत हुँदा कप्तान शिशिर राईको प्रहार हाङदेवाका गोलरक्षक स्याण्डी भट्टराईले रोकेका थिए ।

यसैगरी, हाङदेवाका समिर राई, आकाश राई, निश्चल मोक्तान, सोइसन राई, विशाल मगर, प्रविण राईको प्रहारमात्र गोल भएको थियो भने रोशन राईको प्रहार सुरुम्खिमका गोलरक्षक विपिन फोम्बोले रोक्दा युवराज थापाको प्रहार क्रसबारमा लाग्दै बाहिरियो । खेलको प्लेयर अफ दी म्याच सुरुम्खिमका गोलरक्षक विपिन फोम्बो भए । दुवै खेलको प्लेयर अफ दी म्याच बनेका खेलाडीले जनही २ हजार ५ सयसहित ट्रफी पाए ।

मानाभारा युथ स्पोर्टिङ क्लब खेजेनिमले आयोजना गरेको गोल्डकपको फाइनल खेले भोलि पुस १९ गते हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख दुई हजार ८२ रुपैयाँ र उपविजेताले एक लाख ५२ हजार ८२ रुपैयाँसहित ट्रफी पाउने छ । यसैगरी, अन्य विधागत पुरस्कारको पनि व्यवस्था रहेको छ ।

Post Comments