News बेलबारी एफसी सेमिफाइनलमा प्रवेश
गोलनेपाल

नक्सलबारी । बेलबारी फुटबल क्लब, मोरङ यहाँ जारी छैठौं माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको तेस्रो क्वाटरफाइनलतर्फ बेलबारीले घंगरु फुटबल क्लब, केराबारीलाई पेनाल्टी शुटआउटमा ४–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ बेलबारीका लागि योहना लिम्बुले गोल गरेका थिए भने घंगरुका लागि नविन राईले गोल गरेका थिए । पेनाल्टीमा भने बेलबारी सफल बन्यो । खेलमा बेलबारीका गोलरक्षक अजय परियार म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत पुष २८ गते सोमबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल इन्ट्रा पथरी–११ फुटबल क्लब, पथरी शनिश्चरे र लेटाङ फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

जनज्योति क्लब, बेलबारी–१, नक्सलबारी, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल माघ १ गतेका दिन हुनेछ ।

Post Comments