गैँडाकोट । गैँडाकोट फुटबल क्लब, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को आयोजनामा दोस्रो अन्तरवडा महिला तथा पुरुष फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ। प्रतियोगिता गैँडाकोट नगरपालिका–९, थुम्सीस्थित नवजागरण रंगशालामा भव्य रूपमा उद्घाटन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख अधिकारीले स्थानीय खेलकुदको विकास, युवाको क्षमता अभिवृद्धि तथा प्रतिभाशाली खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उद्घाटनपछि सम्पन्न पुरुषतर्फको पहिलो खेलमा वडा नं. ७ ले वडा नं. २ लाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ। वडा नं. ७ का भक्त बहादुर कुमाल र विकास नेपालीले एक–एक गोल गरे। उत्कृष्ट प्रदर्शन गरेका भक्त बहादुर कुमाल म्यान अफ द म्याच घोषित भए। वडा नं. २ का लागि शैलेश घिमिरेले एक गोल फर्काए।
त्यसैगरी महिलातर्फको पहिलो खेलमा वडा नं. १६ ले वडा नं. ३ लाई १–० गोलले पराजित गर्यो। वडा नं. १६ की रेणु शर्माले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाइन्। उत्कृष्ट खेल प्रस्तुत गरेकी उनी वुमन अफ द म्याच घोषित भइन्।